राप्रपा अध्यक्षको लागी थापा र लिङ्देनद्वारा उम्मेदवारी दर्ता

दार्चुला – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देनले अध्यक्षका लागि मनोनयन दर्ता गराउनुभएको छ ।

आज शुक्रवार पार्टीको नेतृत्वका लागि अध्यक्ष थापा र नेता लिङ्देनले आ–आफ्नो प्यानलसहित राष्ट्रिय सभामा पुगेर मनोनयन दर्ता गराउनुभएको हो । मनोनयन दर्तापछि अध्यक्ष थापाले आफूले अत्यधिक बहुमतबाट विजय हासिल गर्ने बताउनुभयो । उहाँले आफू पुनः नेतृत्वमा चुनिएपछि अध्यक्षका अर्का उम्मेदवार राजेन्द्र लिङ्देनलगायत सबैलाई समेटर पार्टीलाई अघि बढाउने बताउनुभयो ।

मनोनयन दर्तापछि अध्यक्षका अर्का उम्मेदवार राजेन्द्र लिङ्देनले कुनै व्यक्तिगत महत्त्वाकाङ्क्षा, पद प्राप्त गर्ने आकाङ्क्षाले उम्मेदवारी नदिएको दाबी गर्नुभयो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीको स्तरलाई उकास्न, पार्टीलाई उठाएर देशको अग्रणी पार्टीको रूपमा स्थापित गर्न आफू नेतृत्वमा आएपछि कदम चाल्ने बताउनुभयो ।

अध्यक्षका उम्मेदवार लिङ्देनले अहिलेको नेतृत्व परिवर्तन पार्टीका कार्यकर्ताका लागि बाध्यकारी र पार्टी उठाउने कामको सिलसिलाको एउटा प्रस्थानविन्दु हुने बताउनुभयो । उहाँले आफू विजयी भएमा राप्रपा बाहिर रहेका राजावादी र हिन्दुराष्ट्रवादीहरूलाई एकत्रित गरेर नेतृत्वमा आएको ६ महिनाभित्र राष्ट्रिय शक्तिको निर्माण गर्दै आउँदो चुनावमा पार्टीलाई बलियो शक्तिको रूपमा स्थापित गराउने प्रतिबद्धता जनाउनुभयो ।

पार्टीको निर्वाचन समितिले मनोनयन दर्ताका लागि दिएको समय अवधिभित्र अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन गरी दुई जनाको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लीलादेवी श्रेष्ठ रहनुभएको छ भने जगतप्रसाद गौचन, रामचन्द्रराय यादव, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र दुर्गादेवी श्रेष्ठसहित आठ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

महामन्त्रीमा महिलातर्फ रेखा थापा, कुन्तीकुमारी शाहीको नाम दर्ता भएको छ भने पुरुषतर्फ धवलसमशेर राणा, श्यामप्रसाद तिमल्सिना, भुवनकुमार पाठक, भाष्कर भद्रासहित ६ जनाको उम्मेदवारी परेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.