दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–९ दत्तुस्थित सरकार खेलमैदानमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
प्रहरीका अनुसार शुक्रबार बिहान दत्तुस्थित सरकार खेलमैदानमा जिप घुमाउने क्रममा दुर्घटना भएको हो ।
महाकाली नगरपालिका–६ पौनेखोलाका ३२ वर्षीय गणेश भाटले चलाएको सुदूरपश्चिम प्रदेश ०४–००१ ज ०१२२ नम्बरको जिप खेलमैदानमा पुगेर घुमाउने क्रममा अचानक पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा जिपमा सवार नौ जनामध्ये पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था मध्यम र चार जनाको अवस्था सामान्य रहेको छ । अन्य चार जना भने सकुशल रहेका छन् ।
घाइते हुनेमा महाकाली नगरपालिका–४ बिद्य्यानगर टोलका १७ वर्षीया अनु लुहार १७ वर्षीया अस्मिता ओड, १५ वर्षीया अनुषा चुनारा, २१ वर्षीया सङ्गीता चुनारा र २५ वर्षीया भुमा चुनारा रहेका छन् । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनास्थलमा प्रहरी चौकी दत्तु र जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी टोली खटिएको थियो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।