दार्चुला । दार्चुलाका दुई स्थानीय तहले प्रसिद्ध मालिकार्जुन धामको जात्राको अवसरमा मंसिर ६ र ७ गते सार्वजनिक बिदा दिएका छन् ।
राष्ट्रको सातौँ धामका रूपमा परिचित मालिकार्जुन धाममा लाग्ने शिखर पूजन तथा मुख्य जात्रालाई लक्षित गर्दै शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।
कार्तिक शुक्ल त्रयोदशीका दिन शिखर पूजन जात्रा र कार्तिक शुक्ल चतुर्दशीका दिन मालिकार्जुन मन्दिरमा मुख्य जात्रा लाग्ने भएकाले दुवै स्थानीय तहले बिदा दिएका हुन् । शैल्यशिखर नगरपालिकाले मंसिर ६ र ७ गते दुई दिन सार्वजनिक बिदा दिएको छ भने मालिकार्जुन गाउँपालिकाले मंसिर ७ गते एक दिन मात्रै बिदा दिने निर्णय गरेको छ ।
मालिकार्जुन धामको जात्रामा नेपालका विभिन्न जिल्लाका साथै सीमावर्ती भारतीय क्षेत्रबाट समेत ठूलो संख्यामा दर्शनार्थी आउने गरेका छन् । जात्रामा स्थानीयवासीको सहभागितालाई मध्यनजर गर्दै विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि सार्वजनिक बिदा दिइएको सम्बन्धित स्थानीय तहले जनाएका छन् ।
यसैबीच, मालिकार्जुन जात्रालाई सभ्य, भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न मालिकार्जुन मन्दिर व्यवस्थापन समितिले जात्रा अवधिभर मन्दिर क्षेत्रमा जुवातास खेल्न तथा खेलाउन र मदिरा बिक्री, वितरण तथा सेवन गर्न पूर्ण प्रतिबन्ध लगाएको छ ।