कांग्रेस १४ औँ महाधिवेशनमा प्रतिनिधि सङ्ख्या चार हजार सात सय भन्दा बढी

दार्चुला । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा प्रतिनिधिको सङ्ख्या चार हजार सात सय ४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार एक सय ६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशमा रहेका जनसम्पर्कबाट गरी यी सङ्ख्यामा महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन आज शुक्रवार भएको छ । उम्मेदवार मनोनयन दर्ता भोलि शनिवार अर्थात् मङ्सिर २५ गते बिहान १० देखि बेलुका ५ बजेसम्म राष्ट्रिय सभा गृहमा हुनेछ । उम्मेदवारी मनोनयन दर्तामाथि दाबीरविरोध र जाँच मङ्सिर २५ गते बेलुका ५ देखि ७ बजेसम्म र दाबीरविरोधमाथि निर्णय मङ्सिर २५ गते बेलुका ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर २६ गते दिउँसो १२ बजेर १५ मिनेटमा र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

मतदान भने भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा हुनेछ । मतदानमा २९ किसिमका मतपत्र हुनेछन् भने उम्मेदवारको सङ्ख्या र पदअनुसारका आकार र रङका मतपत्रको व्यवस्था गरिनेछ । महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेशिन प्रयोग गर्नेबारेमा छलफल भए पनि अन्ततः कागजको मतपत्रमा नै मतदान हुने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ । यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासीरजनजाति १५, खसरआर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्बाट एक सदस्य गरी कुल एक सय ३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.