दार्चुला – नेपाली कांग्रेसका नेता तथा नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले खुल्ला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गर्नु भएको छ ।उनले रामचन्द्र पौडेल प्यानलबाट उम्मेदवारी घोषणा गरेका हुन् । मन्त्री बडूले सहमहामन्त्रीमा उम्मेदवारी दिने प्रयास गरेपनि पदाधिकारीका आकाक्षिं बढी भएपछि सदस्यमै चित्त बुझाउनु परेको छ ।
पदाधिकारीमा सहमति नजुटेको र जित्ने सम्भावना समेत कम देखिएपछि मन्त्री बडूले केन्द्रीय सदस्यमै उम्मेदवारी दिने निर्णयमा पुगेको उहाँ निकट एक नेताले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा दार्चुलाबाट केन्द्रीय सदस्यमा चार जना नेताहरुले दाबि गरेका छन् । मन्त्री बडूबाहेक दार्चुलाबाट गणेशराज भट्ट, बाशुदेब सिह ऐतवाल र गोबर्धन कोलीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् । भट्ट संस्थापन निकट देखिनुभएको छ भने बडू संस्थापन इतर पक्षमा रहनुभएको छ ।
मन्त्रि बडु यसअघि पटक – पटक राज्य मन्त्रीको जिम्मेवारी पाइसक्नुभएका छन भने २०७४ सालको निर्वाचनमा समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य चयन हुनुभएको थियो । कानुन मन्त्री बडू यसअघि २०४८ सालमा प्रजातन्त्र पुर्न बहाली भएपछि पहिलो पटक आवास तथा भौतिक योजना सहायक मन्त्रि बन्नु भएको थियो । २०५६ सालमा शिक्षा तथा खेलकुद राज्यमन्त्री बन्नुभएका मन्त्री बडू २०६२÷६३ सालको जन आन्दोलन पश्चात गठन भएको सरकारको सूचना तथा संचार राज्यमन्त्री बन्नु भएको थियो ।
दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ५ मा जन्मिनुभएका बडूको जन्म २००९ सालमा भएको बताइएको छ ।१३ औँ महाधिवेसनबाट समेत केन्द्रीय सदस्य बन्नु भएका मन्त्री बडूले पदाधिकारीमा सम्भव नभएपछि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेसंगै उहाँ निकट नेताहरुले प्रचारप्रसार सुरु गरेका छन् ।