दार्चुला । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत साढे १२ बजेसम्म दिइएको उम्मेदवारी मनोनयन फिर्ताको समयमा एक सभापतिका उम्मेदवारसहित ५३ जनाले मनोनयन फिर्ता लिएका छन्।
त्यस्तै सह–महामन्त्रीमा मनोनयन दर्ता गराउनुभएका सुरेन्द्रप्रसाद चौधरीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार उम्मेदवारले मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय आज दिउँसो साढे १२ बजेसम्म निर्धारण गरिएको थियो ।
अहिलेसम्म सभापतिमा एक र सह–महामन्त्रीमा एकसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५२ जनाले आफ्ना नाम फिर्ता लिइसक्नुभएको छ भने अझै केहीको नाम फिर्ता हुन सक्ने बताइएको छ ।
महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको थियो भने चार सय ९९ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको थियो । नाम फिर्ता लिने क्रम समाप्त भएपछि आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुने निर्वाचन कार्यक्रम रहेको छ । यसअघि हिजो शनिवार उम्मेदवार मनोनयन दर्ता बिहान १० देखि बेलुका ५ बजेसम्म भएको थियो ।