बसन्त कुमार जोशी – दार्चुला जिल्लामा रहेका परम्परागत प्रविधिमा आधारित कोलहरू लोप हुन थालेका छन ।
ग्रामीण भेगसम्म यातायातको पहुँच बढ्दै जाँदा परम्परागत रुपमा चलीरहेका कोलहरू हराउन थालेका हुन । नयाँ प्रविधिको विकाससँगै परम्परागत प्रविधिमा आधारित चिउरी, उखु, र तोरी पेल्ने कोल पछिल्लो समयमा गाउँबाटै लोप भएका छन् ।
ग्रामीण क्षेत्रमा यातायातको बिकास हुदै जानु तथा डिजेल मिलको बिस्तारसँगै परम्परागत कोल लोप हुन थालेको शैल्यशिखर नगरपालीका वडा नम्बर ८ झरकडाका कोमल जोशीले बतानुभयो । तेलहन बालीको खेती गर्न कम भएसँगै बजारमा प्याकिङ गरेर खाने तेल आउन थालेपछि कोल हराउँदै गएको उनको भनाइ छ ।
‘बजारमा पाइने विभिन्न किसिमका ‘प्याकिङ’ गरिएका खाने तेल गाउँमा सहजै उपलब्ध हुनु र तेल पेल्न पनि मिलको प्रयोग हुन थालेपछि परम्परागत कोल प्रयोगविहीन बन्दै गएका हुन् । कोल लोपसँगै सामूहिक भावना पनि बिस्तारै हराउदै गएको दार्चुला जिल्ला लेकम गाउपालिका वडा नम्बर ३ का स्थानिय गोमती जोशीको भनाइ छ । गाउँबाट कोल लोप हुदै गएकोमा चिन्ता व्यक्त गर्दै जोशीले भने, ‘तेलबाली लगाउन पनि अहिले लगभग गाउमा छोडी सकेको छ । बजारमै पाइहालिन्छ भन्दै खेती गर्ने माया पनि मारिसकेका छन ।
गाउँभरिको एउटै कोल हुने भएकोले हरेक परिवारले हिउँदयाममा पालैपालो तेल पेल्ने र कोलका खम्बा फेर्नु परेमा समुदायका सबै मानिस मिलेर ल्याउने गरिएको पनि स्थनीयहरुले बताएका छन । कोलमा तेल पेल्नका लागि धेरै जनशक्ति सँगै शारीरिक श्रम पनि बढी लाग्ने तर बजारमा सजिलै तेल किन्न पाइने भएपछि कोल लोप हुने अवस्थामा पुगेको हो । विगतमा जिल्लाभरि सयौंको संख्यामा रहेका कोल अहिले अधिकांश लोप भइसकेका छन । दुर्गम गाउँमा रहेका १/२ कोल पनि विस्तारै प्रयोगविहीन हुदै गएका छन ।
यो संगै गाउँघरका काठबाट हातले बनाइएका विभिन्न मेसिन पनि हराउन थालेका छन ।