दार्चुला – दार्चुलामा आत्महत्याको दर बढ्दै जान थालेपछि प्रहरीले सचेतना अभियान सुरु गरेको छ ।
गत मंसिर २७ गते सोमबार देखि प्रहरीले अभियानको सुरुवात गरेको हो । प्रहरीले आत्महत्या अपराध हो, यातना वा पीडा भए प्रहरीमा उजुरी गरौं, घरेलु हिंसा भए प्रहरीमा उजुरी गरौ नारा दिएर अभियान थालनी गरेको छ ।
यस्तै आत्महत्या होइन, तपाँई भित्र समस्या, पीर, पीडा छ भने साथी वा परिवारमा कुरा गरौं, समस्या भयो भन्दैमा आत्महत्या नगरौं, समस्याको समाधान धेरै किसिमवाट गर्न सकिन्छ, आत्महत्या समाधान होइन भन्ने जस्ता नाराहरुबाट जिल्लामा आत्महत्या विरुद्धको १५ दिने सचेतना अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले आत्महत्या विरुद्धको अभियान जिल्लाका नौवटै स्थानीय तहमा सञ्चालन गर्ने भएको छ । डरलाग्दो गरि बढी रहेको आत्महत्याको दर न्यूनिकरण गर्न घर, परिवार र समाजको सानो भूमिकाले सघाउ पुग्ने प्रहरीको बुझाई छ । सबैभन्दा धेरै आत्महत्या गर्नेहरु २० देखि ३० बर्ष उमेर समुहका रहेको तथ्याङ्कले देखाएको छ ।
चालू आर्थिक वर्षको अहिलेसम्म ५ जना भन्दा बढिले आत्महत्या गरेको प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी माधव विश्वकर्माले जानकारी दिए । उहाँका अनुसार आर्थिक वर्ष २०७४/२०७५ मा ८ जना आर्थिक वर्ष २०७५/२०७६ मा १४ जना आर्थिक वर्ष २०७६/२०७७ मा ११ जना तथा गत आर्थिक वर्ष २०७७/२०७८ मा ७ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।