कक्षा १२ को ग्रेड वृद्धि पूरक परीक्षा माघमा हुने

दार्चुला – कक्षा १२ को ग्रेड वृद्धि अर्थात् पूरक परीक्षा आगामी माघमा हुने भएको छ ।

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी माघ २ र ३ गते हुने राष्ट्रिय परीक्षा बोर्डले सूचना मार्फत जानकारी दिएको छ । कक्षा १२ को परीक्षा गत मंसिर १७ गते प्रकाशित भएको थियो । कम जीपीए प्राप्त गरेका विद्यार्थीले कम्तिमा दुई विषयमा ग्रेडवृद्धिका लागि पूरक परीक्षा दिन पाउनेछन् ।

अन्य सबै विषयमा सी प्लस वा त्यसभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा २ विषयमा सी वा डी प्लस ग्रेड प्राप्त गरेका परीक्षार्थीले दुई वा तीनमध्ये कुनै एक विषयमा ग्रेड वृद्धि परीक्षा दिनसक्ने सूचनामा उल्लेख छ । अन्य सबै विषयमा डी प्लस वा त्यो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा डी वा ई ग्रेड प्राप्त गर्ने वा अनुपस्थित भएका परीक्षार्थीले २ विषयमा ग्रेड वृद्धि परीक्षा दिन सक्ने सूचनामा उल्लेख छ ।

दार्चुला जिल्ला भरका लागि कक्षा १२ को ग्रेड वृद्धि परीक्षा केन्द्र एक मात्रै तोकिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाका प्रमुख जयराज पन्तका अनुसार सदरमुकामस्थित महेन्द्र नमुना माध्यमिक विद्यालय खलंगामा जिल्ला भरको परीक्षा केन्द्र तोकिएको छ।

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा अगामी माघ २ र ३ गते बिहान ११ बजेदेखि हुने तय भएको छ। ग्रेडवृद्धि परीक्षामा दार्चुला जिल्लाभरीबाट २५० जना विद्यार्थी सहभागी हुने जनाइएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले जिल्लामा एकमात्रै परीक्षा केन्द्र तोक्दा परीक्षार्थीलाई समस्या हुने जनाइएको छ। परीक्षा बोर्डले एउटा मात्रै केन्द्र तोकेकोले अब केन्द्र थप गर्न नसकिने शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.