दार्चुला । कोभिड–१९ कोरोना सङ्क्रमणको लहर तिव्र रुपमा फैलिन थालेपछि दार्चुलामा नेपाल प्रहरीले तपाईंको मास्क खोइ ’ ? अभियान लाई तीव्रता दिन थालेको छ ।
सरकारले ‘तपाईंको मास्क खोइ ’ ? अभियान घोषणासँगै जिल्ला प्रहरी कार्यालय दार्चुलाले पनि आफ्नो अभियानलाई तीव्रता दिएको हो ।
प्रहरीले सहीरूपमा मास्क लगाउन र नलगाउनेलाई मास्क लगाउनका लागि प्रेरित गर्न आईतबार मात्रै उक्त अभियान घोषणा गरेको छ ।
जिल्लामा ओमिक्रोनको प्रकोप बढेपछि रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोइ ’ कार्यक्रमअन्तर्गत सोमबार आज मात्रै आठ सय निःशुल्क मास्क वितरण गरिएको प्रहरी प्रमुख मनोहर प्रशाद भट्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार बजारमा पैदल यात्रा गरिरहेका अधिकांश स्थानीयले मास्कको प्रयोग गरेको पाइए पनि व्यापार–व्यवसाय सञ्चालन गरिरहेका कतिपय व्यवसायीले भने मास्कको प्रयोग नगरेको पाइएको जनाइएको छ । अभियानकर्मीले ‘तपाईँको मास्क खै भनेर सोधेपछि कतिपयले हत्तपत्त मास्क लगाएका थिए ।

‘तपाईँहरूसँग मास्क छैन भनेर दिइएको होइन,’ अभियानको क्रममा जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी मनोहर प्रसाद भट्टले भने, ‘संक्रमणबाट बच्नका लागि मास्क अनिवार्य लगाऔं, कोरोनाबाट सुरक्षित रहौँ भनेका हौँ ।
अहिले स्थानीयले मास्कको प्रयोग गर्न छाडेकाले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मास्कको अनिवार्य प्रयोगका लागि सचेतनामूलक कार्यक्रम थालिएको प्रहरी कार्यालयका डिएसपी भट्टले बतानुभयो ।
ओमिक्रोन भाइरसको संक्रमण बढ्दै गएको सन्दर्भमा त्यसलाई रोक्न तोकिएको सुरक्षा मापदण्ड कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔं’ भन्ने नारासहित उक्त अभियान थालेको छ ।