सत्तारुढ गठबन्धनको बैठक बेलुका बस्ने गरी सकियो

दार्चुला – सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बेलुका फेरि बस्ने गरी सकिएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक स्थानीय तहको चुनावको मिति तय गर्नेबारे केन्द्रित रहेको थियो । तर बैठकले ठोस निर्णय गर्न सकेन ।

थप छलफल गरी ठोस निर्णयका लागि फेरि बेलुका बैठक बस्ने भएको छ । स्थानीय तहको चुनाव मात्र नभइ तीन वटै तहको चुनाव एकैपटक गर्ने विषयमा पनि सत्तारुढ दलहरुबीच छलफल भएको छ ।

स्थानीय तहको चुनावलाई लिएर गठबन्धनभित्रै मतभेद छ । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरी संविधानअनुसार बनाउने र त्यसैअनुसार स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनाव एकैचोटी गर्ने गरी छलफल गर्दै आएका छन् ।

आज बिहानको बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपाल लगायत सहभागी हुनुहुन्थ्यो ।

यसअघि हिजो प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच पनि छलफल भएको थियो ।

त्यस्तै अस्ति देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नुभएको थियो । निर्वाचन आयोग, राष्ट्रपति कार्यालय र प्रमुख प्रतिपक्ष दल तथा कानुनविद्ले तोकिएको मिति वैशाखमै स्थानीय चुनाव हुनुपर्नेमा जोड दिएका छन् ।

Leave A Reply

Your email address will not be published.