दार्चुला लगायत उच्च पहाडी भू–भागमा भारी हिमपात र बर्षा

दार्चुला – दार्चुला लगायत सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा भारी हिमपात भएको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालीका, बैतडीको दशरथचन्द नगरपालिका डडेल्धुराको साहुखर्क, हगुल्टे लेक, बैतडीको खोड्पे, बझाङको देउलेक क्षेत्रमा भारी हिमपात भइरहेको जानकारी प्राप्त भएको छ।

दार्चुलाको उच्च भू–भाग शिखर, देवथली, पनेबाज लगायत धेरै ठाउँमा हिमपात भएको शैल्यशिखर नगरपालीका वडा नम्बर ६ का स्थानिय कमल सिह धामीले बताउनुभयो । यो वर्ष लगातारको वर्षा र हिमपातले माघ सकिनै लाग्दा समेत चिसो कम हुन सकेको छैन। वर्षा र हिमपातले अत्यधिक चिसो बढ्दा बाहिर निस्कनसमेत समस्या भइरहेको धामीले बताए। भारी हिमपातका कारण पहाडी जिल्लामा जनजीवन कस्टकर बनेको छ भने हिउ परेसँगै पहाडी जिल्लाका उच्च लेकाली क्षेत्रमा अत्याधिक चिसो बढेको छ ।

यसैबिच पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर पूर्ण बदली भई उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । महाशाखका अनुसार हुम्ला, डोल्पा, मुगुलगायतको उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातसँगै जनजीवन प्रभावित भएको छ ।

बुधबार साँझ नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागले पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपातको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । यसका साथै आज काठमाडौँ उपत्यकासहित देशको पश्चिमी पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

पश्चिमी वायुको प्रभावले देशभरको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायुको प्रभावले एक्कासी बिग्रिएको मौसम शनिबार बेलुकाबाट क्रमश सुधार हुँदै जाने बताइएको छ ।

राति देशभर सामान्य बदली रही पश्चिमी भेगका केही स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षा साथै पश्चिमी उच्च पहाडीसहित हिमाली भू–भागमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ । भोली देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षा हुने छ ।

आइतबार देशको पश्चिमी भू–भागमा सामान्य बदली र मध्य तथा पूर्वका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमको केही स्थानका साथै मध्य र पूर्वका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १६ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।

Leave A Reply

Your email address will not be published.