भारतीय हेलिकप्टर अनुमतिविना नेपाली आकाशमा

दार्चुला / भारतको उत्तराखण्डका मुख्यमन्त्री पुस्कर सिंह धामी सवार हेलिकप्टर नेपाली आकाश भएरै उडेको छ । आइतवार भारत पिथौरागढ जिल्लाको धारचुलामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न आएका मुख्यमन्त्री धामी नेपाली आकाशको बाटो भएर कार्यक्रम स्थल पुगेका थिए।
उक्त हेलिकप्टर नेपाल–भारत सीमा नदी महाकालीभन्दा नेपालतर्फ करिब ५ सय मिटर जिल्ला सदरमुकाम खलंगामाथि उडेको थियो । नेपाली आकाशमा भारतीय हेलिकप्टर पटक–पटक अनुमतिविना उड्ने गरेको छ । अर्काको देशको आकाशमा बिना जानकारी हवाई उडान गर्नु अन्तर्राष्ट्रिय कानून विपरीत मानिन्छ । गत साउन १५ गते महाकाली नदीमा तुइनबाट खसेर बेपत्ता भएका जयसिंह धामीको खोजबिन गर्न महाकाली किनारमा ‘ड्रोन’ उडाउनसमेत नदिने भारतले भने महाकालीवारि दार्चुला सदरमुकाम खलंगा बजारमाथि पटक–पटक हेलिकप्टर उडाउन थालेको छ । भारतीय हेलिकप्टर प्रहरी, सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धन विभागको कार्यालयमाथि भएर उड्छ । केही महिनाअघि मात्र नेपाली सुरक्षा व्यारेकमाथि हेलिकप्टर उडाएको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारत पिथौरागढस्थित जिल्लाधिकारीलाई विनाअनुमति हेलिकप्टर नउडान भनेर पत्र लेखेको थियो ।सोहीबारे प्रशासनले नेपाल सरकार गृह मन्त्रालयलाई जानकारी पत्रसमेत पठाएको थियो । नेपालले पत्र नै लेखेपछि भने केही समय नेपाली आकाशमा नउडेको भारतीय हेलिकप्टर फेरी उड्न थालेको छ ।

Leave A Reply

Your email address will not be published.