संसद् बैठक दिउँसो १ बजे बस्दै सुरक्षाका लागि उपत्यकाबाहिरबाट समेत प्रहरी झिकाइयो

दार्चुला – एमसीसी सम्झौतामाथि आजको संसद् बैठकमा छलफल हुने सम्भावना रहेकाले संसद् भवन र त्यस आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

बिहानैदेखि यी क्षेत्रहरुमा सुरक्षाकर्मी खटिएका छन् । संसद् बैठक दिउँसो १ बजे बस्दैछ । आवश्यक परेमा माइतीघर मण्डलादेखि तीनकुनेसम्मको सडक खण्ड खाली गराउने सुरक्षाकर्मीको तयारी छ । तर, यतिबेला सडकको अवस्था सामान्य रहेकाले अहिले गाडीको आवतजावत सामान्य छ । तर, बिहान ११ बजेपछि विरोध प्रदर्शन हुने भएकाले त्यसपछि भने यो सडक खण्ड प्रभावित हुनसक्ने सम्भावना छ ।

एमसीसीको विषयलाई लिएर यो सडक खण्डमा लगातारजसो आन्दोलन भइरहेको छ । आन्दोलनलाई नियन्त्रणमा लिन काठमाण्डौ उपत्यकाबाहिरबाट समेत सुरक्षाकर्मी झिकाएर खटाइएको छ । सशस्त्र प्रहरी बलले काभ्रे, सिन्धुपाल्चोक, धादिङ, तनहुँलगायत जिल्लामा कार्यरत प्रहरीलाई काठमाण्डौमा झिकाएर खटाएको छ ।

सत्ता गठबन्धनकै दल माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी नै एमसीसीको विपक्षमा उभिँदा कार्यकर्ताहरु विरोधमा उत्रिएका छन् । तर, एमसीसी पारित गर्न यी दुई दल सहमति नजिक पुगेकाले आजको अवस्था फरक हुन सक्ने सम्भावना छ । सहमतिलाई औपचारिक रुप दिन माओवादी र एकीकृत समाजवादी छलफलमा जुट्दै छन् ।

Leave A Reply

Your email address will not be published.