देश बनाउने जिम्मेवारी एमालेको प्राथमिकतामा – अध्यक्ष ओली

दार्चुला – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने जिम्मेवारी आफ्नो दलको प्राथमिकता रहेको बताउनुभएको छ । नेकपा एमाले गण्डकी प्रदेश कमिटिद्वारा आज मङ्गलवार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले एमालेका कार्यकर्ता पद तथा ओहोदाका लागि नभइ समाज निर्माणमा क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।

जनतालाई मनपर्ने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिँदै अध्यक्ष ओलीले सामाजिक न्याय र समानताका क्षेत्रमा पार्टी निरन्तर लागिरहेको बताउनुभयो । आफ्नो दल लोकतन्त्रको मूल्य मान्यता, स्वच्छता, पारदर्शीता आदिलाई आत्मसात् गर्दै अघि बढिरहेको छ भन्दै उहाँले एमालेको विचार, व्यवहार र निष्ठा अन्यसँग तुलना गर्न नमिल्ने जिकिर गर्नुभयो ।

विभिन्न दलबाट एमाले प्रवेश गरेका कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष ओलीले पार्टीको सिद्धान्तअनुसार देश र जनताका पक्षमा क्रियाशील हुन आग्रह गर्नुभयो ।

अन्तर्राष्ट्रिय नारी दिवसबारे चर्चा गर्दै अध्यक्ष ओलीले नेपालमा महिला सशक्तिकरण बढेको र आफूलाई प्राप्त जिम्मेवारीलाई उनीहरूले सफलताका साथ वहन गरिरहेको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.