दार्चुला – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गिरिजाप्रसाद कोइरालाई राष्ट्रपति नबनाएर र रुक्मांगद कटवाललाई चलाएर गल्ती गरेको भन्दै पश्चात्ताप गरेका छन्।
प्रचण्डले पार्टीको प्रदेश १ स्तरीय प्रशिक्षण कार्यक्रममा आइतबार यस्तो स्विकार गरेका हुन्। कार्यक्रमका वेला नेपाली कांग्रेसका नेता स्व. गिरिजाप्रसाद कोइरालालाई उनले स्मरण गरे। उनले भने, ‘त्यो बूढो मान्छेलाई राष्ट्रपति बनाएको भए के हुन्थ्यो होला ३ महिनामा जाँदै गरेको रुक्मांगद कटवाललाई किन हटाएको होला थुक्क मेरो बुद्धि
प्रचण्डले एकातर्फ खरा क्रान्तिकारी रामबहादुर थापा ‘बादल’ र अर्कोतर्फ वैचारिक नेता बाबुरामले गर्दा त्यस्तो निर्णय लिएको दाबी गरे। त्यसवेला बादल र भट्टराईले कर गरेर आफूले यस्तो निर्णय लिएको भन्दै आफ्नो बचाउ गरे। उनले भने, ‘उहाँहरूका पछाडि लाग्दा त्यसवेला राष्ट्रपति हारियो, सरकार गुम्यो।’
हाल पनि त्यस्तो हुने सम्भावना देखेरै १२ बुँदे व्याख्यात्मक टिप्पणी गर्दै एमसिसी पारित गरेको उनले चर्चा गरे। उनले कार्यकर्तालाई एकजुट हुन पनि आह्वान गरे। उनले कार्यकर्तालाई भने, ‘सबै पक्षको तालमेल मिलाएर युद्ध जितेका हौं, डोकोमा रेडियो बोकिन्थ्यो, आफू घाइते हुँदा बोक्ने स्ट्रेचर बोकेर, आफू मर्दा पुरिने खाल्डो खनेर युद्धमा गएका थियौं।’ उनले थपे, ‘त्यहाँ एकता थियो, त्यही कारण हामीले जितेका हौं, अहिले पनि त्यही अवस्थाको एकता गर्नुहोस्।’
उनले आगामी निर्वाचनका लागि स्थानीय तहमा केन्द्रित भएर अभियान चलाउन पनि प्रदेशका नेताहरूलाई सुझाव दिए। उनले आगामी निर्वाचनमा आफ्नै बलबुतामा लड्नसक्ने पार्टी बनाउन कार्यकर्तालाई आग्रह गरे।