दार्चुला । निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा आफ्नै चुनाव चिह्नबाट लड्न पाउने भएका छन। आयोगको बुधबार बसेको बैठकले राष्ट्रिय दलको मान्यता नपाएका दलहरुलाई सशर्त दलीय चुनाव चिह्न दिने निर्णय गरेको हो ।
आयोगको निर्णय अनुसार, अब राष्ट्रिय मान्यता नपाएका दलहरुले जिल्ला स्तरको संगठनात्मक संरचनाको विवरण केन्द्रीय पदाधिकारीबाट प्रमाणित गरी आयोगलाई पठाउनु पर्नेछ ।
तर आयोगले मागेको विवरणहरु नबुझाउने दलका उम्मेदवारलाई भने स्वतन्त्र उम्मेदवारलाई प्रदान गरिने चुनाव चिह्न नै प्रदान गरिने आयोगले जनाएको छ ।
स्थानीय तह निर्वाचन ऐनको दफा २६ मा राष्ट्रिय मान्यता प्राप्त दललाई मात्र दलीय चुनाव चिह्न दिने व्यवस्था छ, र राजनीतिक दल सम्बन्धी ऐनको दफा ५२ मा प्रतिनिधिसभामा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्ने दललाई मात्र राष्ट्रिय दलको मान्यता दिने व्यवस्था छ ।
यसअनुसार, ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले मात्र दलीय चुनाव चिह्न पाउने अवस्था छ ।
अन्य ७३ दलका उम्मेदवारले स्वतन्त्र उम्मेदवारको चुनाव चिह्न लिनुपर्ने हुन्छ ।