दार्चुला – जिल्लाको मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिका सिमानामा रहेको शैल्यशिखर धामलाई लक्षित गर्दै विभिन्न समयमा हुने विभिन्न चाँडपर्वहरुमा आउने श्रद्धालु भक्तजनहरुको लागि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कञ्चनपुरले संचालन गर्ने गरी “मल्ली रोल मौतामौती लिफ्टिङ खानेपानी आयोजना” संचालन हुने भएको छ ।
मालिकार्जुन राष्ट्रिय धाममा विभिन्न समयमा हुने चाँडपर्वहरुमा हजारौ श्रद्धालु भक्तजनहरुका लागि खानेपानीको ठुलो समस्या भएकोले मालिकार्जुन मन्दिर मड र शैल्यशिखर धामको जात्राका लागि ३/४ घण्टा हिड्ने बाटोमा खानेपानी समस्या भएकोले ३ वर्ष पहिला देखि मालिकार्जुन गाउँपालिकाले पहलकदमी गर्दै आएको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामीले जानकारी दिनुभयो।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कञ्चनपुर मार्फत कार्वाही अगाडी बढाएको अध्यक्ष धामीले बताउनुभयो । शैल्यशिखर नगरपालिका वडा नं. ६ को रोला मुहानबाट शिखर मौतामौतीमा मुख्य ट्याङ्की रही शैल्यशिखर नगरपालिकाको उल्लानी, लौरी, ढोला खोला, चैतलीचोरा र मालिकार्जुन गाउँपालिकाको धौखानी, सुङरखाली, किमकाईजर, मलबाब, सिलङ्गैर बजार, मालिकार्जुन मन्दिर, मावि मड, बस्कोट, भौतडी क्षेत्रका उपभोक्ताहरुले समेत खानेपानी सुविधा पाउने भएका छन । चालु आ.व. २०७८/०७९ का लागि १२ करोड बजेट विनियोजन स्वीकृत भई अर्थ मन्त्रालयले बहुबर्षिय कार्यक्रम स्वीकृत गरी श्रोत समेत सुनिश्चित गरिसकेको मालिकार्जुन गाउँपालिका अध्यक्ष धामीले जानकारी दिनुभयो ।
साथै योजना संचालन तथा कार्यान्वयनका लागि मिति २०७८/११/१३ गतेका दिन मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामी र शैल्यशिखर नगरप्रमुख अमर सिह धामी विच शैद्धान्तिक सहमती समेत भईसकेको छ । मिति २०७८/११/१३ गतेका दिन शैल्यशिखर नगरपालिका वडा नं ६ उल्लानी अर्थात खानेपानी योजनाको मुहानमै दुबै पालिकाको संयुक्त बैठक बसी आयोजना कार्यान्वयनका लागि आ-आफ्नो पालिकाबाट गर्नु पर्ने सहयोगका लागि दुबै पालिकाले सहमती जनाएको छ । आयोजना संचालनका लागि आवश्यक पर्ने जग्गा-जमिन उपलब्ध गराउने, स्थानीय तहबाट वेहर्नु पर्ने आर्थिक दायित्व दुबै पालिकाबाट प्रतिनिधित्व हुने गरी नन्दकिशोर धामीको अध्यक्षतामा नौ सदस्यीय उपभोक्ता समिति गठन भएको अध्यक्ष धामीले जानकारी दिनुभयो ।
उक्त संयुक्त बैठकमा मालिकार्जुन गाउँपालिका वडा नं. ३ का कार्यवाहक अध्यक्ष कल्यान सिह साउद शैल्यशिखर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष गोपाल सिह धामी, दुबै पालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडा सचिवहरु लगायतको उपस्थिति रहेको थियो ।
चालु आ.व. २०७८/०७९ मै आयोजना संचालन हुने गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामीले बताउनुभयो ।




