दार्चुलामा कांग्रेस र माओवादीको भागबन्डा ,नेकपा एस समेटिएन

दार्चुला । यही ३० बैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि दार्चुलामा सत्ता गठबन्धन दलहरुबीच भागबन्डामा सहमति बनेको छ । लामो छलफलपछि मंगलवार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने समझदारी बनेको हो ।

तर गठबन्धनका प्रमुख दलहरुले नेकपा एकीकृत समाजवादीलाई नसेमेटेरै पालिका बाँडफाँड टुंग्याएका छन । केन्द्रीय सत्ता गठबन्धनलाई जिल्लामा पनि कायम गर्नेगरी स्थानीय तहमा समझदारी भएको नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापति ललित सिंह बोहराले बतानुभयो ।

भागबन्डाको सहमतिमा नेपाली काँग्रेसले ५ स्थानीय तहमा प्रमुख र नेकपा माओवादी केन्द्रले ४ स्थानीय तहमा प्रमुख पाउने भएको छ । माओवादी केन्द्रलाई अपिहिमाल, मार्मा, नौगाड र लेकम गाउँपालिकाको अध्यक्ष दिने निर्णय भएको छ भने कांग्रेसले महाकाली र शैल्यशिखर नगरपालिकाको प्रमुख तथा मालिकार्जुन, दुहुँ र व्याँस गाउँपालिकाको अध्यक्ष पाउने सहमति भएको छ।
यस्तै काँग्रेसले ७ पालिका अपी हिमाल, मार्मा, शैल्यशिखर, महाकाली, लेकम, दुहुँ र नौगाडमा उपप्रमुख÷उपाध्यक्ष पाएको छ भने माओवादीले २ पालिका व्याँस र मालिकार्जुनमा उपाध्यक्ष पाएको छ ।

कांग्रेसले जिल्लाका ४० बढी वडा र माओवादीले २० वडा पाउने खाका बनाइएको छ। समाजवादीले भने महाकाली र शैल्यशिखरमा मिल्ने अवस्था हुँदाहुँदै एकतर्फी ढंगले निर्णय गरिएको भन्दै प्रदेश संयन्त्रमा विषय प्रवेश गराउने जनाएको छ।
नेकपा एकीकृत समाजवादीलाई पनि मिलाएर जाने सहमति अनुसार एक दुई ठाउँमा वडाअध्यक्ष तथा केही सदस्य दिने बुझिएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले ५ स्थानीय तह, नेकपा एमालेले ३ र नेकपा माओवादीले १ स्थानीय तह जितेको थियो ।

 

Leave A Reply

Your email address will not be published.