दार्चुला । प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा प्रस्तावित मेडिकल कलेजलाई स्वास्थ्य प्रतिष्ठान बनाउने बताउनुभएको छ ।
शनिबार धनगढी उप–महानगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मेडिकल प्रतिष्ठानका लागि तत्कालै मन्त्रीपरिषद्बाट निर्णय गरेर विधेयक निर्माणको कार्य अघि बढाइने बताउनुभयो । ‘यसअघि त्यस विषयमा यहाँबाट आवाज उठेको थिएन,’ प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘अहिले सवैको एउटै माग रहेको पाए, अब चाँडै सुदूरपश्चिमवासीको माग सम्बोधन हुनेगरी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन पहल गर्नेछु ।’
उहाँले कैलालीसँग जोडिएको गौरिफण्टा नाकाको अधिकार कैलाली प्रशासनले पाउने गरी निर्णय गरिनेसमेत बताउनुभयो । गौरिफण्टा नाका व्यवस्थापनको अधिकार कञ्चनपुरलाई हुँदा यहाँका नागरिकलाई समस्या भएको गुनासो आएपछि प्रधानमन्त्री देउवाले नागरिकलाई सहज हुनेगरी गौरिफण्टाको अधिकार कैलालीलाई दिन गृह मन्त्रालयलाई निर्देशन दिने बताउनुभयो ।