दार्चुलाका ६ स्थानियतहमा करार कर्मचारी हटाएर पुनः करार कर्मचारी नै भर्नाको माग

दार्चुला –जिल्लाको शैल्यशिखर नगरपालीका ,व्याँस गाउँपालिका दुहुँ गाउँपालिका, अपिहिमाल गाउँपालिका, नौगाड गाउँपालिका, मालिकार्जुन गाउँपालिकाले करार कर्मचारी हटाएर पुनः ठुलो संख्यामा करार कर्मचारी भर्नाका लागि नयाँ आवेदन माग गरेका छन् ।

स्थानीय तहमा नेतृत्व फेरिँदा अघिल्ला जनप्रतिनिधिको कार्यकालमा भर्ना गरिएका धेरैजसो करारका कर्मचारी धमाधम हटाइएको छ । दार्चुलाका धेरैजसो स्थानीय तहले कार्यपालिकाबाट निर्णय गरी करार सम्झौता थप नगर्ने भएका छन् । नयाँ जनप्रतिनिधि आएसँगै वर्षौदेखि काम गरिरहेका करार कर्मचारीहरुलाई बिदा गरिएको छ । स्थानीय तहले आवश्यकता अनुसार करारमा कर्मचारी राख्न र हटाउन पाउँछन्, तर उचित कारण खुलाउनुपर्दछ ।

यस्तै संघ सरकारबाट वितरित सशर्त अनुदानमा सञ्चालित राष्ट्रिय कार्यक्रमका लागि पनि करारमा कर्मचारी भर्ना गरिएका छन् । ती कर्मचारी पनि नयाँ जनप्रतिनिधिको निसानामा परेका छन् । नयाँ आर्थिक वर्षमा करार अवधि नवीकरण नगरी कतिपय स्थानीय तहले नयाँ भर्नाको प्रक्रियासमेत अघि बढाएका छन् । पालिकामा स्थायी कर्मचारी कम हुँदा पनि स्थानीय तहहरु स्थायी पदपूर्ति गर्न छोडेर फेरि पनि करारमा नै कर्मचारी पदपूर्ति गर्न लागेका हुन् ।

दार्चुलाको शैल्यशिखर नगरपालिकाले एकैपटक ठूलो संख्यामा करार कर्मचारी हटाइ ९० जनाको नयाँ भर्ना आवेदन खोलेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्टले स्वास्थ्य क्षेत्रका ८० जना र नगरपालिकाका ४० जना गरेर १ सय २० जना करार कर्मचारीको म्याद नथपिएको बताए ।

यस्तै जिल्लाको व्याँस गाउँपालिकाले पनि करार कर्मचारी हटाएर नयाँ आवेदन खुला गरी भर्ना गर्न लागेको छ । व्याँसले २८ जना कर्मचारीका लागि नयाँ आवेदन खोलेको छ । यस्तै दुहुँ गाउँपालिका, अपिहिमाल गाउँपालिका, नौगाड गाउँपालिका, मालिकार्जुन गाउँपालिकाले पनि करार कर्मचारी भर्नाका लागि नयाँ आवेदन माग गरेका छन् ।

यसैबीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुलाई करार कर्मचारी लिने विषयमा प्रक्रिया पु¥याएर गर्न चेतावनीसहित सूचित गरेको छ । मन्त्रालयले विभिन्न स्थानीय तहले एकमुष्ट रुपमा करार कर्मचारी हटाइ पुनः सयौंको संख्यामा विज्ञापन गरेको उजुरी आएकाले रिक्त पदहरुमा लोक सेवा आयोगसँग माग गरी विवरण पठाउन तथा कानून बमोजिम गर्न भनेको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.