अनेरास्ववियुले बुझायो जिल्ला प्रशासन बैतडीलाई ११ बुँदे ज्ञापन पत्र

बैतडी – नेकपा एमालेको भातृ संस्था अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु बैतडीले चर्को सवारी भाडा असुल्ने व्यवसायीलाई कारवाही गर्नुपर्ने माग सहित ११ बुँदे ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय बैतडीलाई बुझाएको छ ।

अनेरास्ववियू बैतडीका अध्यक्ष नरेन्द्र साउदको नेतृत्वमा गएको एक टोलीले बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीलाई उक्त ज्ञापन पत्र बुझाएको हो ।

अनेरास्ववियु बैतडीका अध्यक्ष नरेन्द्र साउदद्वारा हस्ताक्षरित ज्ञापनपत्र मार्फत चर्को सवारीभाडा नियन्त्रण, शिक्षा क्षेत्रमा भएको वेथिति, कालोबजारी, पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि र कालोबजारी, जाँडरक्सी नियन्त्रण, सुरक्षा एवं बालिका बलात्कार घटनाका आरोपितलाइ कानूनी कारवाहीको माग गरिएको छ ।

अहिले जिल्लाका यातायात व्यवसायीहरुले चर्को सवारी भाडा असुल्ने गरेको, बजारमा कालोबजारी मौलाएको, पेट्रोलियम पदार्थमा मिसावट तथा चर्को मुल्य लिने गरेको, मदिरा सेवनले घरेलु हिंसा लगायतका घटना बढेको, शिक्षा क्षेत्रमा वेथिति मौलाएको लगायतका घटनाहरु बढेकाले यस तर्फ अनेरास्ववियुले ध्यानाकर्षण गराएको हो ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले चर्को भाडा लगायतका सन्र्दभका अन्य ठाउँबाट पनि गुनासो आएकाले यातायात व्यवसायिहरुसंग बसेर यसको समाधान निकालिने बताए ।

त्यसैगरी, चाडबाडका बेलामा सार्वजनिक सवारी साधनहरुले यात्रुबाट असुल्ने अनुचित भाडादरको अनुगमन, नियन्त्रण तथा कार्वाही र चाडपर्वको बेलामा हुन सक्ने सम्भावित चोरी डकैती, लुटपाट, बलात्कार, झैझगडा हुन नदिनका लागि प्रहरी प्रशासनको विशेष सक्रियता साथै जिल्ला भित्र एकीकृत सुरक्षा प्रणाली अपनाउन भन्दै ध्यानाकर्षणसहितको ज्ञापन पत्र बुझाइएको अनेरास्ववियू जिल्ला सचिवालय सदस्य सुदिप रानाले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.