बैतडी – बैतडीमा एक स्वास्थ्य चौकीको सेवा बन्द भएका छन्। जिल्लाको पुरर्चौंडी नगरपालिका स्थित वडा नम्बर ४ को भटना स्वास्थ्य चौकी तथा जोगेपानी प्रसुती गृहको ओपिडी र २४ घण्टे प्रसुती सेवा बन्द भएका हुन्।
स्थानीयका अनुसार उक्त सेवाहरु कर्मचारी अभाव तथा व्यवस्थापनको कमजोरीका कारण करिब चार महिनादेखि बन्द भएका हुन्। यस्तै राजनैतिक पूर्वाग्रहका कारण पनि सेवाहरु प्रभावित भएको स्थानीयले आरोप लगाएका छन्। उनीहरुले सो वडाका अध्यक्ष दिलबहादुर धानुक र सो स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीका कारण सेवा बन्द भएको आरोप लगाएका हुन्।
सेवा बन्द भएपछि सेवाग्राहीलाई समस्या भएको भन्दै सेवा सुचारुका लागि उनीहरुले मागसमेत गरेका छन्। तर, कर्मचारीहरुले भने सेवा सुचारु गर्ने भन्दा पनि उल्टै स्थानीय युवाहरुलाई सामाजिक सञ्जालमा नलेख्न तथा मिडियाकरण नगर्न धम्की दिने स्वरुपको विज्ञप्ति जारी गरेका छन्। सो संस्थामा कार्यरत ९ जना कर्मचारीहरुद्वारा जारी विज्ञप्तिमा धम्कीपूर्ण भाषा प्रयोग गरिएको स्थानीय युवा रिकेश प्रशाद भट्टले बताए।
यता, पुरर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक बिनोद कुँवरले भने सो कार्यालय भवन रहेको जमिनको लालपुर्जा कार्यालयका नाममा नरहेको र एकै वडामा ३,४ स्वास्थ्य संस्थाहरु रहेकाले समस्या आएको बताएका छन्। उक्त भटना स्वास्थ्य चौकीमा कार्यरत एक अनमि अर्को ठाउँ गएपछि सेवा प्रभावित बनेको उनको दाबी छ। सो ठाउँमा सेवाग्राही पनि न्यून रहेको उनको भनाइ छ।