सिट बाँडफाँट केही दिनमै टुङ्गाे लाग्छ : खनाल

दार्चुला – नेकपा माओवादी केन्द्रका सचिव चक्रपाणि खनालले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि पाँच दलीय गठबन्धनबीच केही दिनमै सिट बाँडफाँटको टुङ्गो लाग्ने बताउनुभएको छ ।
आज सोमवार प्रेस सेन्टर अर्घाखाँचीले आयोजना गरेको पत्रकार सम्मेलनमा खनालले यही भदौ १५ गतेसम्म सिट बाँडफाँटको टुङ्गो लाग्ने र समयमै उम्मेदवारहरू जिल्ला आउने बताउनुभएको हो । उहाँ पार्टीको जिल्ला समन्वय समितिको बैठकमा सहभागी हुने अर्घाखाँची आउनुभएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै सचिव खनालले माओवादी र नेकपा समाजवादीबीच चुनावपछि एकता हुने बताउनुभयो । उहाँले चुनावमा संयोजन समिति बनाएर गठबन्धन गरेर जाने र चुनावपछि एकता गर्ने सहमति भएको बताउनुभयो । आउँदो चुनावलाई मध्यनजर गर्दै पालिका चुनावमा गरिएको गठबन्धन कायम रहने तथा अन्य दललाई पनि गठबन्धनमा समावेश गर्ने गरी प्रक्रिया अगाडि बढेको उहाँको भनाइ छ ।
अहिलेको गठबन्धन संविधान रक्षाका लागि भएको जिकिर गर्दै सचिव खनालले गणतन्त्रको रक्षा र स्थायित्वका लागि गठबन्धन गरिएको बताउनुभयो । गठबन्धन हिजोको जस्तो नभइ स्थायित्व दिने खालको भएको बताउँदै उहाँले राष्ट्रिय जनमोर्चा र एमालेबाहेकका अन्य कम्युनिस्ट पार्टीसँग पनि एकताको छलफल भइरहेको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.