दार्चुला – विश्वमै लोपोन्मुख पंक्षी गिद्धको संरक्षण चुनौतिपूर्ण बन्दै गएको छ । परम्परागत बासस्थान विनाश हुनु, आहारविहार र चरनको अभावमा गिद्ध दिन प्रतिदिन संकटमा पर्दै गएको छ ।। प्रकृतिको कुचिकारका रुपमा रहेका लोपोन्मुख पंक्षी गिद्ध संरक्षण नहुँदा लोप हुने क्रम बढ्दै गएको हो ।
विशेष गरी गिद्धको बासस्थान सिमलको रुख भएकाले पछिल्लो समय बढ्दो वन विनासका कारण सिमलका रुख हराउँदै गएपछि गिद्धको बासस्थान पनि हराउँदै गएको जिल्ला डिभिजन वन कार्यालयका प्रमुख प्रमानन्द कँुवरले बताउनुभयो ।
ठूलठूला भीरमा समेत गिद्ध पाइने भए पनि पछिल्लो समयमा गिद्ध देखिन छोडेको शैल्यशिखर नगरपालिकाका वीरसिंह धामीले बताउनुभयो । उहाँका अनुसार, “गिद्ध संरक्षणका लागि सरकारी तथा स्थानीयस्तरबाट कुनै पहल हुन सकेको छैन, गिद्ध संरक्षणका लागि पहल नहुँदा लोप हुँदै गएका छन् ।”
गिद्धको आहारामा समेत समस्या आएकाले गिद्ध लोप हुँदै गएको जानकार बताउँछन् । मरेका पशुपक्षीको सिनोलाई आहाराका रुपमा गिद्धले प्रयोग गर्ने गर्दछन् । पछिल्लो समयमा बाहिर सिनो फाल्ने चलन पनि कम हुँदै गएका कारण पनि गिद्ध लोप हुन लागेका हुन् ।
आहारको अभावमा गिद्ध लोपहुँदै गएको पनेबाज सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दामोदरसिंह धामीको भनाइ छ । पशुमा प्रयोग गरिने डाइक्लोफेनिक औषधिले पनि गिद्ध लोप हुन थालेको जानकार बताउँछन् । पशुलाई दिइने यो औषधिको प्रयोगले गिद्धको विनाशमा ठूलो भूमिका खेलेको पशु प्राविधिक गोपालसिंह धामी बताउनुहुन्छ । डाइक्लोफेनक औषधि प्रयोग भएको पशुको सिनो खाएमा गिद्ध मर्ने गरेको उहाँले बताउनुभयो ।
नेपालमा डाइक्लोफेनिक औषधिको बिक्री वितरणमा रोक लगाइएको भए पनि दार्चुलामा भारतसँगको खुला सिमानाबाट यस्तो औषधि भित्रिने गरेको छ । अहिले विश्वभर २३ प्रजातिका गिद्ध पाइन्छन् । त्यसमध्ये दक्षिण एशियामा नौ र नेपालमा आठ प्रजातिका गिद्ध पाइन्छन् । नेपालमा पाइने आठ प्रजातिका गिद्धमा सानो खैरो, डङ्गर, सुन, गोब्रे, राज, हिमाली, खैरो र हाडफोर रहेका छन् ।
विश्वलेसमेत प्रकृतिको कुचिकारका रुपमा लिएको गिद्ध संरक्षणमा देखिएको चुनौतीले यसको संरक्षणमै ठुलो समस्या देखा पर्न थालेको छ । यसको संरक्षणमा देखिएका चुनौतिलाई चिर्दे अगामी दिनमा गिद्ध संरक्षणकालागि सरकार र नीजि क्षेत्रको सहकार्य आवश्यक देखिन्छ । त्यसैले यसको संरक्षणका लागि गिद्धलाई उपयुक्त हुने वतावरण र यसको खानपीन र बाँसस्थानमा ध्यान दिन आवश्यक देखिन्छ ।