दार्चुला – बाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले आउँदो मङ्सिर ४ गते हुने चुनावमा उम्मेदवारी नदिने बताउनुभएको छ ।
आज शुक्रवार फेसबुक पेजमा स्टाटस लेख्दै उहाँले नाती पुस्ताले समेत देशको नेतृत्व हाँक्ने भइसकेकाले अब आफू चुनावमा नउठ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘दोस्रो पुस्तामात्रै हैन अहिले नाती पुस्तासमेत देशको नेतृत्व हाँक्न तयार र सक्षम भएर बसेका छन् । अबको मेरो जिम्मेवारी नेकपा एमालेको उमेद्वारहरूलाई विजयी गराउने हुनेछ । अहिले देशले साँच्चै नै परिवर्तन खोजेको बताउँदै उहाँले भन्नुभयो, ‘परिवर्तनका लागि सारा देश जागेको बेला परिवर्तनको संवाहक नेकपा एमालेलाई चौतर्फी घेराबन्दी गरी नामेट बनाउने प्रयासमा देशी तथा विदेशी शक्तिहरू एकजुट भएर लागिपरेका छन् । यस्तो बेला आउँदो चुनावमा कस्ता खालका व्यक्तिलाई जिताएर पठाउने भन्ने नेपाली जनताको हातमा छ । सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आउँदो चुनावमा सम्भावित उम्मेदवारका बारेमा चर्चा हुँदा आफ्नो नाम पनि जोडिएर आउने गरेकाले आफू चुनावमा नउठ्ने स्पष्ट पार्नुभयो ।