दार्चुला बर्सौ देखि बाढी पहिरो को उच्च जोखिम मा ७० सालमा पनि करोडौं को क्षति भएको थियो

दार्चुला-भदौ २४ गते शुक्रबार राति परेको अविरल वर्षाका कारण पहिरामा परी ज्यान गुमाउनेको पहिचान खुलेको छ । त्यसमध्ये सनाखत हुनेमा महाकाली नगरपालिका–२ मुल्ला ७७ वर्षीय नन्दराम बोहरा, महाकाली–३ डुङ्री बस्ने ३५ वर्षीया मानमती कार्की रहेका छन् भने नौगाड गाउँपालिका वडा नं १ बस्ने ३५ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया धनुली ठगुन्ना र ४५ वर्षीय मोहनराम पार्की रहेका छन् ।
पहिरामा परी घाइते भएका नौगाड गाउँपालिकाका रामसिंह ठगुन्ना, वीरा ठगुन्ना, फागुली ठगुन्ना र जयबहादुर ठगुन्नालाई सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरमार्फत जिल्ला अस्पताल पु¥याएर उपचार भइरहेको छ । बाढीपहिरामा परी मृत्यु हुनेमा तीन जना महिला दुई जना पुरुष गरी पाँच जना रहेका छन् । घाइते हुनेमा तीन महिला र पाँच पुरुष गरी जम्मा आठ जना रहेका छन् । बाढीपहिरामा अहिलेसम्म चार महिला र छ पुरुष गरी १० जना बेपत्ता भएका छन् । बेपत्ताको खोजीकार्य भइरहेको भए पनि अहिले सम्म कुनै पत्ता लागेको छैन। अहिले सम्म पनि बेपत्ता हरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्याल दार्चुलाका सूचना अधिकारी लोकेन्द्र बहादुर सिंह ले बताए । अविरल वर्षाका कारण पहिरामा पुरिएर दुई सय ६३ पशुचौपायको मृत्यु भएको छ । महाकाली नगरपालिका बङ्गाबगरस्थित पार्किङमा रोकेर राखेको अवस्थामा जीप छ, कार एक, ट्र्याक्टर एक, स्काभेटर एक गरी जम्मा नौ वटा सवारीसाधन बेपत्ता भएका छन् । त्यस्तै ४२ घरमा पूर्ण क्षति भएको छ भने नौ वटा घरमा आंशिक क्षति भएको छ । चालीस घर अझै उच्च जोखिममा रहेको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउद ले बताउनु भयो। महाकाली–३ मा रहेको दशरथ आधारभूत विद्यालयसमेत बगाएको छ । बाढीले महाकाली–३ मा रहेको डुङ्ग्री विद्युत् पावर हाउसमा पनि पूर्णरुपले क्षति भएको छ । झोलुङ्गे पुल दुई र मोटरेवल पुल एक गरी जम्मा तीन पुलमा पूर्ण क्षति भएको छ । सदरमुकाम खलङ्गामा खानेपानीको समेत हाहाकार मच्चिएको छ । ७० सालको घटना फेरि दोहोरियो २०७० सालको असार २ गते आएको भीषण बाढीले दार्चुला सदरमुकाम तहसनहस बनाएको थियो ।  दार्चुलाबासी को घाउ निको नहुदै फेरि घाउ बल्झिएको छ । महाकालीको बाढीले अहिले जिल्ला सदरमुकामको भौगोलिक स्वरूप नै परिवर्तन गरिदिएको थियो। बाढीले सदरमुकाम बाङ्गाबगर रिङ्नताल र गल्फै क्षेत्रका बस्ती नै लोप भएका बनाएको थियो। २०७० सालको बाढी पहिरोले एउटै मालामा उनेर बनेको बस्ती लाई टुक्रा टुक्रा बनाएको थियो।  बर्सेनि दार्चुला जिल्ला विभिन्न प्राकृतिक विपदका कारण खतरामा रहेको छ । विभिन्न अध्ययनका आधारमा दार्चुला जिल्लामा प्राकृतिक खतराहरुमध्ये भूकम्प, चट्याङ, बाढी पहिरो मुख्य रुपमा रहेका देखिन्छन् । ७० सालको बाढीले दार्चुला सदरमुकाम खलंगा बजारमा कटान गरेपछि त्यसक्षेत्रमा नेपाल सरकारले पक्की तटबन्ध निर्माण गरेको थियो। महाकाली नगरपालिका ५ गल्फैको पारी पट्टि भारत सरकारले महाकाली नदी लाई स्काइभेटर लगाएर नदी नेपाल तर्फ फर्काउदा त्यति बेला स्थानीय हरुले चर्को बिरोध गरि स्काइभेटरको चाबी समेत नियन्त्रणमा लिएका थिए।
उसोत भारत सरकारले जिल्लाको सिमाना क्षेत्रमा ज्यादती गर्दै आएको भएपनी संबंधित निकायले कुनै चासो देखाएको छैन।

वि सं २०७० सालमा भारत सरकारले पूर्वसूचना बिना भारतको उत्तराखण्डस्थित पिथौरागढमा रहेको धौलीगंगाको बाँध खोलिएपछि महाकाली नदीमा उर्लिएर जिल्ला सदरमुकाममा महाकाली नदीले बितण्डा मच्चाएको थियो। त्यतिबेला दार्चुला सदरमुकामका सयौँ घर तथा दर्जन सरकारी कार्यालय बगाउँदा अर्बौंको क्षति भएको थियो । जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङक अनुसार ११ ओटा सरकारी कार्यालय बगाउँदा मात्रै २३ करोड ७९ लाख ३५ हजार दुई सय ७८ रुपियाँ बराबरको क्षति भएको थियो । बाढीमा परी दुई जनाको ज्यान गएको थियो भने दर्जनौँ परिवार विस्थापित भएका थिए । तर पीडितहरूले भने तत्कालीन अवस्थामा सरकारबाट ३५ हजार रुपियाँ राहतबाहेक केही सुविधा नपाएको गुनासो गर्दै आएका छन् । बाढी पीडितले पुनर्स्थापनाको माग राख्दै बाढी पीडित सङ्घर्ष समिति गठन गरेर आवाज उठाए पनि हालसम्म सुनुवाई नभएको बताउँदै आएका छन् । तत्कालिन सरकारको मन्त्री परिषदको निर्णयले बाढी पीडित व्यवसायीलाई सहुलियत रुपमा ऋण दिने, बाढी पीडितका छोराछोरीहरूलाई वैदेशिक रोजगारी तथा अन्य सरकारी सेवा सुविधामा सहुलियत दिने निर्णय गरे पनि कार्यान्वयन भने अहिले सम्म गरेको छैन। महाकाली नदीमा बाढीपछि पाँच वर्षमा निर्माण सम्पन्न गर्नेगरी आर्थिक वर्ष २०७०÷०७१ बाट शुरु भएको नदी नियन्त्रण आयोजनाको काम ठेकेदार को लापरबाही ले अहिलेसम्म पूरा भएको छैन । २०७० सालको घटना दोहोरिन नदिन समयमै कूटनीतिक पहल र पक्की तटबन्ध पूरा गर्न स्थानीयले गरेको आग्रहलाई वेवास्ता नगर्दा घटना फेरी दोहोरिएको छ । दुहु र नौगाड गाउपालिकामा पनि गत बर्ष ठूलो धनजनको क्षेती भएको थियो। २०७८ भाद्र १३ गते अविरल बर्षाका कारण करोडौं को धनजन को क्षती भएको थियो । त्यति बेलाको बाढीपहिरोले दुहु गाउँपालिका को विभिन्न क्षेत्रमा भौतिक तथा मानवीय क्षती गरेको थियो। दुहु गाउपालिका वडा न १ बसपालीका नर सिंह महर र उनकी श्रीमती कौशा महरको पहिरोमा पुरिएर मृत्यु भएको थियो। त्यस्तै दुहुको वडा नम्बर ५ दुल्लामा बाढीले बगाउदा मनुवा डडालको मृत्यु भएको थियो। त्यति बेला दुहुमा पाच वटा पसल दुई वटा लघुबिद्युत चार वटा झोलुङ्गे पुल र एउटा पक्की पुल बगाएको थियो।
२०७८ सालको बाढी पहिरोले बितन्डा मच्चाउदा दुहु गाउँपालिकामा १४ जना घाइते र दुई दर्जन भन्दा बढी घर हरुमा पुर्ण क्षती भएको थियो।

Leave A Reply

Your email address will not be published.