दार्चुला लगायत सुदूरपश्चिममा बुढी पोल्ने संक्रान्ति मनाइदैँ

दार्चुला –दार्चुला लगायत सुदूरपश्चिम प्रदेशमा आज शनिबार बुढी पोल्ने’ पर्व अर्थात सुदूरपश्चिममा बुढी पोल्ने संक्रान्ति मनाइदैँछ। असोज १ गते संक्रान्तिका दिनलाई सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्वका रुपमा मनाउने चलन रहेको छ। विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बुढी अर्थात् राक्षसी पुतनालाई पोल्ने प्रचलन सुदूरपश्चिममा छ। किंवदन्ती अनुसार भगवान कृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला–गोठालाहरुले पुतनाको शव दहन गरेको भन्ने छ ।द्वापर युगमा पुतनालाई भगवान कृष्णले दूध चुसी मारेको तथा विशाक्त दुध चुस्दा पनि कृष्ण बाँचेको खुसियालीमा असोज संक्रान्तिका दिन ‘बुढी पोल्ने’ पर्व मनाइने गरिएको हो। भाद्र संक्रान्ति अर्थात ओल्के संक्रान्तिका दिन गाउँ नजिकका अग्लो टाकुरामा सबैजना मिलेर गाडिएको सल्लाको वा अन्य बोटबिरुवाको लिङ्गोमा रूखका हाँगाबिगा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ। यो थुप्रोलाई स्थानीय भाषामा ‘बुढी हाल्ने’ भनिन्छ। यो बूढीलाई नै आज असोज संक्रान्तिका साँझ प्रत्येक घर–घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ‘बूढी पोल्ने’ पर्व मनाउने परम्परा छ।

Leave A Reply

Your email address will not be published.