देशभर आज संविधान दिवस मनाइदै

दार्चुला – संविधानसभाबाट संविधान जारी भएको सात वर्ष पूरा भएको छ । संविधान जारी भएको अवसरमा आज दार्चुलासहित देशभर विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । संविधान दिवस २०७९ को अवसरमा जिल्ला मूल समारोह समिति दार्चुलाले खलंगामा प्रभात फेरी तथा फलफुल वितरण कार्यक्रमको आयोजना गरेको छ । दार्चुला सदरमुकाम खलंगा र स्थानीय तहहरुको आयोजनामा पालिका केन्द्रहरुमा संविधान दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ । दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवादेखि स्थानीय तहका जनप्रतिनिधि र प्रशासक लगायतले शुभकामना सन्देश जारी गर्नुभएको छ । सात वर्षअघि ०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो । यद्यपि, जारी संविधान सर्वस्वीकार्य हुन सकेको छैन । सुरुदेखि नै संविधान विभेदकारी भएको भन्दै मधेसवादी, आदिवासी जनजातिलगायत रुष्ट छन् । यसका कतिपय प्रावधान विभेदकारी भएकाले संशोधन गर्न उनीहरूले माग गरेका छन् । तथापि, केही मधेसवादी दलमा भने विरोधाभाष देखिएको छ । संविधानको विरोध गरिरहेका उनीहरू यही संविधान कार्यान्वयनका लागि सरकारमा सहभागी छन् ।

Leave A Reply

Your email address will not be published.