दार्चुला- बडादसैँं, शुभदिपावली एवं छठपर्व नजिकिएसँगै दार्चुला , गोकुलेश्वर बजार क्षेत्रमा भीडभाड बढेको छ।नेपालीहरुको महान चाड विजया दशमी नजिकिएसँगै यति बेला पर्व मनाउन रोजगारीका लागि भारतका विभिन्न सहर पसेका र पढाईको लागि जिल्ला बाहिर रहेकाहरु पनि आफ्नो जन्मथलो फर्कन दिनहुँ पुलघाट नाका हुँदै दार्चुला पुग्ने गरेका छन।त्यस्तै अन्य विभिन्न ठाउँ गएका पनि पर्व मनाउनैका लागि घर फर्किरहेका छन्।त्यसले गर्दा आज भोली बजारमा अत्यन्त भीडभाड बढेको पाइन्छ।चाडवाड नजिकिएसँगै दिनहुँ बजारमा भीडभाड बढेको स्थानिय कमल सिंह धामीले बताउनुभयो। जिल्लामा चाडपर्व लक्षित ट्राफिक व्यवस्थापनको कार्ययोजना लागू भएको छ। जिल्ला ट्राफिक प्रहरीले ३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ।बसपार्क लगायतका विभिन्न स्थानमा सहायता कक्ष स्थापना गरिएको हो।दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी लागू गरिएको कार्ययोजनामा काडाइ गरिएको प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनु भएको छ।चाडपर्वको समयमा सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढी हुने गरेको छ।विशेषगरी मजदुरी गर्न भारत गएकाहरु घर फर्किने हुँदा पनि चाप बढी हुने गरेको हो।देशभित्रै पनि पढाइ तथा काम विशेषले घरबाहिर बस्नेहरु जन्मथलो फर्किने भएकाले पनि चाप बढ्ने गरेको छ।यात्रुको संख्या बढी हुने भएकाले यो समयमा दुर्घटनाको जोखिम बढी हुने गरेको छ।दुर्घटना न्यूनिकरण गर्नसहायता कक्ष स्थापना गरी व्यवस्थापन भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।लामो दुरीमा दुई चालकको व्यवस्था अनिवार्य छ।अहिले ट्राफिक प्रहरीले सवारी साधनको यान्त्रिक अवस्था जाँचसमेत गर्ने गरेको छ।लामो दुरीमा दुई चालक राख्ने, क्षमताभन्दा बढी यात्रु राख्ने लगायतका विषयमा समेत कडाइ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिनुभयो।