बैतडीको निङ्गलाशैनी भगवती मन्दिरमा भोलिदेखि जात्रा

दार्चुला –बैतडीको दशरथचन्द नगरपालिका २ देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा भोलिदेखि जात्रा शुरु हुँदैछ । घटस्थापनादेखि नित्य पूजा भइरहेको मन्दिरमा महासप्तमीको अवसरमा जात्रा शुरु हुने निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मुखिया मानबहादुर बोहराले बताए।हरेक बर्षको महाष्टमीमा निङ्गलाशैनी भगवतीमा राँगाको बलि सहित जात्रा हुने भएकाले सप्तमीका दिन मन्दिरमा राँगा पुर्याउने चलन रही आएको छ।महाष्टमीका दिन राँगाको बलि सहित मन्दिरमा जात्रा हुने गरेको छ।निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा टाढा–टाढाका भक्तजनहरु समेत आउने गरेका छन्।नेपालका मात्रै नभएर भारतका विभिन्न ठाउँबाट समेत दर्शनार्थीहरु पुग्ने गरेको दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष सूर्यबहादुर बोहराले बताए ।निङ्गलाशैनी भगवती मन्दिरमा भोलि र पर्सी लाग्ने मेलाको तयारी पूरा भइसकेको निङ्गलाशैनी भगवती मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए।निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको उनले बताए ।निङ्गलाशैनी भगवती मन्दिरमा महाष्टमी र चैत्राष्टमीमा लाग्ने जात्रा बलिसहित हुने भएपनि अनन्त चतुर्दशी र मंसिर शुक्ल पूर्णिमका दिन लाग्ने मेलामा बलि नहुने बताइएको छ ।यसैबीच निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई शान्त र भव्य रुपमा सम्पन्न गर्नका लागि देहीमाण्डौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ।मेला अवधिभर देहीमाण्डौं बजार र आसपासका क्षेत्रमा मदिरा सेवन र विक्रिमा रोक लगाइएको वडा अध्यक्ष बोहराले बताए ।कसैले नियम विपरीत मदिरा सेवन र विक्रि गरेको पाइएमा कानुनी कारवाही समेत हुने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.