दार्चुला –आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुले घरदैलो अभियान निरन्तरता दिएका छन् । सोही अनुसार बुधवार प्रतिनिधि सभा सदस्य उम्मेदवार एवं नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दिलेन्द्र प्रसाद बडू, प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार विक्रम सिंह धामी लगायत काँग्रेस तथा माओवादीका नेताहरु लेकम गाउँपालिका पुगेका छन् । लेकम गाउँपालिका वडा नम्बर ४ खरकडाको भेटघाट कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दिलेन्द्र प्रसाद बडूले काँग्रेस हार्दा लेकमको विकास पछाडी परेको बताउनुभएको छ । उहाँले आफ्नो पालामा सुरुवात गरिएका विकास निर्माणका कामहरू आफूले हार्दा अलपत्र परेका र त्यसपछि चुनाव जितेकाहरुले लगातार १० वर्ष नेतृत्व गरेपनि आफ्नो पालामा बनेका बाटाघाटा, विद्यालय भवन, खानेपानी, स्वास्थ्यचौकी भवन सम्म मर्मत गर्न नसकेको बताउनुभयो । साथै उनले एमालेले २०७० सालमा जनतासामु गरेका प्रतिवद्धता पूरा गर्न नसकेको बताउनुभयो । लेकम क्षेत्र विकासमा धेरै पछाडी रहेको बताउँदै उहाँले आफूले जिते विकासले गति पाउने बताउनुभयो । भेटघाट कार्यक्रममा मन्त्री बडूले आफूले अहिले उद्योग मन्त्रालयको जिम्मेवारी पाउँदा दार्चुलाको लागि थुप्रै विकास निर्माणका कामहरु सुचारु गरेको बताउनुभयो । जसअन्तर्गत मूख्यरुपमा जिल्लाका ८ स्थानमा खाद्य डिपो स्थापना गर्न सफल भएको उहाँको भनाइ थियो । यस्तै उहाँले आफ्नो पहलमा निर्माण भईरहेको कुणि लिफ्टिङ खानेपानीको योजनामा कुनै भूमिका नरहेका राजनीतिक दलहरूले जस लिएर भ्रमको खेती गरिरहेकाले सचेत नागरिकले आफूहरुलाई साथ दिने विश्वास लिएको बताउनुभयो । सोही कार्यक्रममा बोल्दै प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार विक्रम सिंह धामीले आफूले अहिलेसम्म निस्वार्थ, इमान, निष्ठाको राजनीति गरेको हुँदा एमालेका उम्मेदवारको जस्तो पैसामा मतदाता किनेर आफू चुनाव जित्ने पक्षमा नरहेको बताउनुभयो । साथै उहाँले दार्चुलालाई हिन्दु धर्मावलम्बीको प्रमुख धार्मिक एवं पर्यटकीय तीर्थस्थल बनाउन लागि पर्ने बताउनुभयो । यस्तै नेकपा माओवादी केन्द्रका नेता तथा लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीले लेकम क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, संचार लगायतका क्षेत्रमा विकासका निर्माणका कामहरु दिलेन्द्र प्रसाद बडूकै पहलमा भएको र पछिल्लो पटक जिल्लाबाट केन्द्रमा पहुँच नभएको प्रतिनिधि जिताएर पठाउँदा दार्चुलाले विकास निर्माणको गति लिन नसकेको बताउनुभयो । साथै उहाँले लेकमको माटोसित दिलेन्द्र प्रसाद बडूको पुरानो भावनात्मक सम्बन्ध रहेकोले लेकममा शिक्षाको ज्योति फैलिएको बताउनुभयो । उहाँले समग्र जिल्लाको विकासका लागि गठबन्धनलाई मत दिन आग्रह गर्नुभयो ।