संविधान, स्थायित्व र व्यवस्था जोगाउन गठबन्धनलाई भोट : मन्त्री बडू

दार्चुला –आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुले घरदैलो अभियानलाई निरन्तरता दिएका छन् । घरदैलो अन्तर्गत प्रतिनिधि सभा सदस्य उम्मेदवार एवं नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दिलेन्द्र प्रसाद बडू, प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार विक्रम सिंह धामी लगायत काँग्रेस तथा माओवादी केन्द्रका नेताहरु अहिले लेकम गाउँपालिकामा चुनाव प्रचारप्रसार गरिरहेका छन् । बिहीवार लेकम गाउँपालिका वडा नम्बर २ को कुणी र वडा नम्बर १ सर्मोलीको दुरकाडामा भेटघाट तथा घरदैलो कार्यक्रम गरिएको छ । भेटघाट कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार एवं उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दिलेन्द्र प्रसाद बडूले संविधान, स्थायित्व र व्यवस्था खतरामा पार्न जनताले अब एमालेलाई भोट नदिने बताउनुभएको छ । जनताले एमालेलाई झण्डै दुई तिहाइ मत दिएकोमा त्यो जनमत जोगाउन नसकि संविधान र व्यवस्थामाथि प्रहार गर्न खोजेको उहाँको भनाइ थियो । साथै उहाँले दार्चुलाबाट २०६४ देखि हालसम्म काँग्रेसले चुनाव नजित्दा विकासमा पछाडी परेको बताउनुभयो । उहाँले जनताले यसपटक आफूलाई विश्वास गरी मत दिने र आफूले दार्चुलाको शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, संचार क्षेत्रको विकासका लागि ५ वर्ष अहोरात्र खटिएर काम गर्ने बताउनुभयो । भेटघाट कार्यक्रममा बोल्दै प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार विक्रम सिंह धामीले आफुले चुनाव जिते लेकमको रतौडामा रहेको रतौडा धामको खोज अनुसन्धान गरेर धार्मिक पर्यटन क्षेत्रको रूपमा विकास गर्ने बताउनुभएको छ । साथै उहाँले हालसम्म आफ्नो पहलमा दार्चुलालाई हिन्दु धर्मावलम्बीको प्रमुख धार्मिक एवं पर्यटकीय तीर्थस्थल बनाउन मालिकार्जुन मन्दीरमा शिव भगवानको ज्योतिर्लिङ्ग स्थापना भएको र नौगाडको लक्सेरीमा नागेश्वर धामको स्थापना गरिएको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.