राजनीति परिस्थितिअनुसार चल्छ, यसमा स्थायी शत्रु र मित्र हुँदैन : प्रधानमन्त्री देउवा

दार्चुला – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन गरी एक ठाउँमा उभिनुपरेको जिकिर गर्नुभएको छ । गृहपालिका गन्यापधुरा–२ वडालमा आज शुक्रवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा नेपाली कांग्रेससहितको गठबन्धन बहुमतका साथ विजयी हुने दाबी गर्नुभयो ।

सबै पक्ष, जातजाति र भूगोल तथा अन्यायमा परेका मानिसको पक्षमा रहेका गठबन्धका उम्मेदवारलाई विजयी बनाउन उहाँले आग्रह गर्नुभयो । राजनीतिमा स्थायी शत्रु र मित्र नहुने भएकाले राजनीति परिस्थितिअनुसार चल्ने उहाँको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले न्यायपालिका स्वतन्त्र हुनुपर्नेमा जोड दिँदै न्यापालिकामाथिको हस्तक्षेप र आरोप बन्द हुनुपर्ने बताउनुभयो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा न्यायालय र संविधानलाई कमजोर पार्ने चेष्टा गरेको आरोप लगाउँदै प्रधानमन्त्री देउवाले न्याय क्षेत्रलाई स्वतन्त्ररूपमा काम गर्ने वातावरण आफ्नो नेतृत्वको सरकारले कायम गरेको जिकिर गर्नुभयो । कुनै पनि व्यक्ति वा प्रधानमन्त्रीले संसद् भङ्ग गर्न नपाउन् भन्ने अभिप्रायले लोकतन्त्रको मर्म र जनताको अभिमतका आधारमा तयार पारिएको नेपालको संविधान मास्ने र च्यात्ने खतरा बढेको तर ससंद् र अदालत नै संविधानको रक्षा गर्ने निकाय भएको उहाँको भनाइ थियो । उहाँले अतिक्रमित नेपालको भूमि कुटनीतिक पहल र आपसी सम्बन्धका आधारमा फिर्ता ल्याउन पहल भइरहेको जानकारी दिनुभयो । आफू पनि सुदूरपश्चिमवासी भएकाले लिम्पियाधुरा, लिपुलेक, कालापानी र अन्य भूमिसम्बन्धी विवाद पनि कुटनीतिक पहलका आधारमा समाधान गर्ने उहाँको भनाइ थियो । प्रधानमन्त्री देउवाले सुदूरपश्चिम र डडेल्धुराको विकासका लागि आफू सधैँ प्रतिबद्ध रहेको बताउनुभयो । डडेल्धुरामा मेडिकल कलेज निर्माणको प्रक्रिया अगाडि बढिसकेको जानकारी दिँदै उहाँले पश्चिम सेती जलविद्युत् आयोजना, विमानस्थल, ग्रामीण सडकको स्तरोन्नति, सिँचाइ, खानेपानी र विद्यालय निर्माण जस्ता विकासका गतिविधि यस क्षेत्रमा अगाडि बढेको बताउनुभयो । प्रधानमन्त्री देउवाले कात्तिक १९ गते बिहान अजयमेरु गाउँपालिकाको भद्रपुर र दिउँसो भागेश्वर गाउँपालिकाको रुपाल तथा २० गते आलिताल गाउँपालिकाको गोदाम र परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

Leave A Reply

Your email address will not be published.