ओलीलाई देउवाको जवाफ- भाषणले चुच्चे नक्सा जारी भएको होइन

दार्चुला : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भाषणले चुच्चे नक्सा जारी भएको भनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन् । दार्चुलाबाटै अध्यक्ष ओलीले आफ्नो पार्टीले चुनाव जिते चुच्चे नक्सा अनुसारको कालापानी, लिपुलेक र  लिम्पियाधुरा क्षेत्र फिर्ता ल्याउने बताएका थिए । आफ्नो नेतृत्वको सरकारले चुच्चे नक्सा जारी गरेको र चुच्चे नक्सा जारी गरे बापत् सरकारबाट हट्नुपरेको भनी चुच्चे नक्सालाई नै मुख्य चुनावी एजेण्डा बनाएपछि प्रधानमन्त्रीले जवाफ फर्काएका छन् ।

बुधबार दार्चुलामा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भनेर संसदले दुई तिहाई बहुमतले पारित गरेको स्मरण गरे । कात्तिक १८ गते दार्चुला पुगेर एमाले अध्यक्ष ओलीले गरेको सम्बोधनप्रति लक्षित गर्दै देउवाले भने, भाषणले चुच्चे नक्सा जारी भएको होइन । ओलीजीले यहाँ आएर बोलेर पनि हुँदैन । भारतसँग कुरा गर्नसक्नुपर्छ ।’
साथसाथै, प्रधानमन्त्री देउवाले गठबन्धन अहिलेमात्रै नभएर पछिसम्म निरन्तर जाने बताएका छन् । गठबन्धन राष्ट्रिय आवश्यकता भएको उनको भनाई छ । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको दार्चुलामा गठबन्धनका तीनै जना उम्मेदवारलाई जिताएर पठाए तीनै जनालाई मन्त्री बनाउने देउवाको आश्वासन छ । दार्चुला सम्भावनाको खानी भएको उल्लेख गर्दै उनले विकासका लागि गठबन्धन प्रतिवद्ध रहेको बताए । महाकाली करिडोरलाई सरकारले प्राथमिकता दिने उनको प्रतिवद्धता छ ।
बुधबार नै बैतडीको पाटनमा भएको लोकतान्त्रिक–वाम गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले पश्चिम सेती परियोजना निर्माण सकिएपछि सुदूरपश्चिमको कायापलट हुने बताए । पश्चिम सेती निर्माणको काम अगाडि बढिसकेको उनको भनाइ छ ।
भारतीय कम्पनीसँग सम्झौता गरेर पश्चिम सेती परियोजनाको काम अघि बढेको छ । यो निर्माण सम्पन्न भएपछि सुदूरपश्चिममा कायापलट हुनेछ । किनभने पश्चिम सेतीको आम्दानी सुदूरपश्चिमको हुन्छ ।’ उनले भने ।देउवाले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम पनि अघि बढ्ने बताए । यो कामको लागि भारतीय प्रधानमन्त्रीसमेत इच्छुक रहेको उनले सुनाए । बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगीक क्याम्पस बनाउने पनि उनको प्रतिवद्धता छ।कार्यक्रममा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब बन्ने बजेटमा सुदूरपश्चिमले प्राथमिकता पाउने आश्वासन दिए । पश्चिम सेती र झुलाघाटमा मोटरबेल पुल निर्माण अगाडि बढाउने उनको प्रतिवद्धता छ ।

Leave A Reply

Your email address will not be published.