दार्चुला- दार्चुलामा नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच दोहोरो झडप भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका–५ ओखलमा चुनावी प्रचारप्रसारका क्रममा झडप हुदाँ ४ जना घाइते भएका छन् । गठबन्धनका कार्यकर्ताले नेकपा एमालेका प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेदवार राम दत्त जोशीको टोलीलाई आफ्नो क्षेत्रमा प्रचार गर्न अवरोध गरेपछि झडप भएको प्रहरीले जनाएको छ । झडपमा परि गठबन्धनका कार्यकर्ता अपिहिमाल गाउँपालिका–६ का जहेन्द्र धामी, सोही ठाउँका जगत धामी र एमालेका कार्यकर्ता मार्मा गाउँपालिका–३ का बिरेन्द्र विष्ट र शैल्यशिखर नगरपालिका–९ का सुरेश बादी घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घाइतेहरुको लटिनाथ अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
