अघिल्लो चुनावभन्दा करिब सात प्रतिशतले न्यून मतदान

दार्चुला – प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि अघिल्लो पटकभन्दा यसपटक कम मतदान भएको छ । निर्वाचन आयोगको प्रारम्भिक विवरणअनुसार यसपटक ६१ प्रतिशत मतदान भएको छ । जुन निर्वाचन आयोगले गरेको अपेक्षाभन्दा न्यून हो ।

वि.स. २०७४ मा मङ्सिर १० र २१ गते गरी दुई चरणमा गरिएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा ६८ दशमलव ६७ प्रतिशत मतदान भएको आयोगको विवरण छ । यसपटकको चुनावमा भएको मतदानको प्रारम्भिक विवरण हेर्दा अघिल्लो पटकभन्दा सात दशमलव ६७ बिन्दुले न्यून मतदान भएको देखिएको हो ।

त्यस्तै, यो चुनावमा गएको वैशाख ३० गते भएको पालिका तहको चुनावको तुलनामा पनि न्यून मतदान भएको देखिन्छ । पालिका तहको चुनावमा ६६ दशमलव ८६ प्रतिशत मत खसेको थियो । वि।स। २०७४ को चुनावमा अन्तिम मतदाता नामावलीमा नाम रहेका मतदाताको सङ्ख्या एक करोड ५४ लाख २७ हजार नौ सय ३८ थियो । जसमध्ये एक करोड पाँच लाख ९३ हजार नौ सय ९१ मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका थिए ।

यसपटकको चुनावमा अन्तिम मतदाता नामावलीमा रहेका मतदाताको सङ्ख्या एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० रहेको थियो । प्रतिनिधिसभा र प्रदेशसभाको अघिल्लो चुनावमा भन्दा यसपटक थपिएका मतदाताको सङ्ख्या २५ लाख ६० हजारभन्दा बढी छ ।

निर्वाचन आयोगका अनुसार आइतबार केही स्थानको चुनाव भने स्थगित भएको छ । नवलपरासी पूर्वको देवचुली नगरपालिका–४ को शान्ति सिर्जना आधारभूत विद्यालय, सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका–६ सिम्ता बहुमुखी क्याम्पस, गुल्मी जिल्लाको कालीगण्डकी गन्या भगवती मावि अर्वेनी र बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका नन्देश्वरी मावि पिपलचौरलगायत अन्य आठ स्थानसमेत गरी कूल १५ मतदान स्थलमा मतदान स्थगन भएको आयोगले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.