दार्चुला –ब्यास गाउँपालीका वडा नम्बर ४ डोकटका ४० बर्षीय नरसिंह बिष्टको हत्यारा सोमबार जिल्ला प्रहरी कार्यालय दार्चुलाले सार्वजनिक गरेको छ । मंसिर ४ गते संसदीय चुनावको दिन ४० बर्षीय नरसिंह बिष्ट मृत भेटिएका थिए । उनी मृत भेटिएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो। विष्ट मंसिर २ गते संसदीय चुनावमा भोट हाल्न भनेर घरतर्फ ब्याँस गाउँपालिका(४ डोकट गएका थिए। तर, ३ मंसिरको रातिसम्म पनि उनी घर पुगेनन्। उनी ४ गते मतदान गर्नका लागि घर गएका हुन। ३ गते राती करिब १० बजे तिर हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। विष्टको हत्या अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी को टोलीसमेत घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय दार्चुलाले हत्या प्रकरणको अनुसन्धान सकिएको भन्दै अभियुक्त लाई सार्वजनिक गरेको हो। नरसिंह बिष्टको हत्या आरोपमा स्थानीय २५ वर्षीय दिपक विष्टलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय दार्चुलाले सार्वजनिक गरेको हो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सुचाना अधिकारी राजेश शाहीकाअनुसार दिपकलाई आजै जिल्ला अदालतमा पेश गरी ७ दिनको म्याद थप गरिएको हो। मृतक बिष्ट विगत १० वर्षदेखि दार्चुला सदरमुकाम खलंगामा होटल व्यवसाय सञ्चालन गर्दै आएका थिए।