दार्चुलामा करोडौँ लगानिका दर्जनौँ सडक प्रयोगविहीन

दार्चुला – स्थानीय तहहरूले सडकको ट्र्याक खोल्न करोडौं रकम खर्चेको भए पनि बाह्रै महिना सवारी गुड्न सक्ने बनाउन सकेका छैनन् । अपी हिमाल गाउँपालिकाबाहेक जिल्लाका सबैजसो स्थानीय तहहरूले सडकको ट्र्याक खोल्ने योजनामा काम गरिरहेका छन । सडकको ट्र्याक खोलिए पनि स्तरोन्नतिमा बजेट नछुट्याउँदा सवारीसाधन चल्न सकेको छैन । एउटै स्थानीय तहले ३ देखि एक दर्जन संख्यामा सडकको ट्र्याक खोलेका छन । सडकको स्तरोन्नतिको काम नहुँदा अधिकांश सडक प्रयोगविहीन बनेका छन। व्यास गाउँपालिकाले ७ वटा सडकको ट्र्याक खोलेको छ । पालिका सबै वडालाई दार्चुला–टिंकर सडकले छोएको भए पनि स्थानीय तहले वडाका बस्ती जोड्न सडकको ट्र्याक खोलेको थियो । अहिलेसम्म कुनै पनि सडकमा सवारी गुडाउन लायक बनाउन नसकिएको स्थानीयको गुनासो छ । पहिरो जाने गरी खनिएका सडकको स्तरोन्नति नहुँदा वर्षायाममा हिलाम्य र सुक्खायाममा धुलाम्य हुने गरेका छन ।

स्थानीय तहले खोलेका एक÷दुई ठाउँबाहेक अधिकांश सडकमा गाडी गुड्न सकेको छैन । जिल्लाका ९ स्थानीय तहमध्ये तीन स्थानीय तहलाई पक्की सडकमार्गले जोडेको छ । अपी हिमाल गाउँपालिकाबाहेक सबै स्थानीय तहको केन्द्रसम्म सडकको पहुँच पुगेको छ । हालसम्म छ वटा स्थानीय तहको पहुँचमा पक्की सडक छैन । महाकाली लोकमार्गले छोएका शैल्यशिखर र महाकाली नगरपालिका तथा मालिकार्जुन गाउँपालिकाका केही वडाहरूमा पक्की सडक छन । ती स्थानीय तहका अधिकांश वडामा कच्ची सडकको पहुँच पुगे पनि गाडी चल्न सकेका छैनन् ।

भोगौलिक विकटता, ठेकेदारको लापरबाही, राजनीतिक स्वार्थका कारणले सडक निर्माणले गति नपाएको स्थानियको गुनासो छ । अहिले स्थानीय, प्रदेश र संघीय सरकारको लगानीमा धमाधम सडक निर्माण भइरहेका छन् । दार्चुलाका अधिकांश वडा कार्यालयलाई सडक मार्गले छोए पनि स्तरोन्नति नहुँदा नियमित यातायातका साधनहरू भने थोरै मात्र वडामा सञ्चालित छन् । स्थानीय तहहरूले सडकको ट्र्याक खोल्ने र स्तरोन्नतिको काम नगर्दा गाडी गुड्न नसकेका हुन् । स्थानीय तहहरूले खनेका अधिकांश सडकका कारण बस्तीहरू पहिरोको उच्च जोखिममा पनि परेका छन् ।

Leave A Reply

Your email address will not be published.