काठमाडौं- नेपाल विद्यार्थी संघ दार्चुला बहुमुखी क्याम्पस इकाई समितिले स्ववियु अध्यक्षले क्याम्पसका प्राध्यापकमाथि हातपात गरेको भन्दै कारबाहीको माग गरेको छ ।
फागुन ३ गते दार्चुला बहुमुखि क्याम्पसका स्ववियु अध्यक्ष कृष्ण धामीले प्राध्यापक डम्मर साउँदमाथि गुण्डागर्दी शैलीमा हातपात गरेको भन्दै एक विज्ञप्ती जारी गर्दै काँरबाहीको माग गरेको हो ।
क्याम्पस भित्र प्राध्यापक, कर्मचारी र विद्यार्थी बीच सुमधुर सम्बन्ध स्थापित गर्न अहम भुमिका निर्वाह गर्नुपर्ने स्ववियु अध्यक्षले विनाकारण प्राध्यापकमाथि आक्रमण गरेर क्याम्पसको शैक्षिक वातावरण बिगारेर विद्यार्थी र प्राध्यापकलाई आतंकित गराउने कार्य गरेकाले यसको घोर भत्सर्ना र निन्दा गर्दै कारबाहीको माग गरेको नेविसंघ दार्चुला बहुमुखी क्याम्पस इकाई समितिका कार्यबाहक अध्यक्ष धर्मेन्द्र जोशीले जानकारी दिए ।
नेविसंघले जारी गरेको विज्ञप्तीमा भनिएको छ – ̔नेतृत्व विकाससँगै शैक्षिक सुधार गरी अतिरिक्त क्षमता विकासमा ध्यान दिने, विद्यार्थीका दैनिक जीवनमा आइपर्ने समस्यालाई प्रशासनसँग सहजीकरण गर्ने, सूचना आदान–प्रदान गर्ने, शैक्षिक गुणस्तरमा ध्यान दिने, आलोचनात्मक चेतनाको निर्माण, नेतृत्वको विकास, जिम्मेवारी बहन, राजनीतिक चेतना निर्माण, समाजका ज्वलन्त सामाजिक आर्थिक मुद्दामा बहस आदि जस्ता रचनात्मक क्रियाकलाप गर्ने, उद्देश्यले विद्यार्थीले विद्यार्थीकै लागि जन्माएको स्ववियु एक जिम्मेवार र एउटा वैधानिक संस्था हो ।
सिंगो स्ववियुको नेतृत्व गर्दै विद्यार्थी र प्रशासन बीच पुलको भूमिका निर्वाह गरि प्राध्यापक र विद्यार्थी बिच सुमधुर सम्बन्ध कायम गर्ने वातावरण सृजना गर्ने. क्याम्पसको शैक्षिक वातावरणमा सुधार गर्ने, विद्यार्थीका एजेन्डा, समस्या, आवस्यकता र कठिनाइमा खरो आवाज बुलन्द गर्ने, कर्तव्य बोकेको दार्चुला बहुमुखी क्याम्पसमा स्ववियुको नेतृत्व गर्ने, स्ववियु अध्यक्ष जस्तो जिम्मेवार पदमा बसी पदीय मर्यादा र आचरणबाट बिमुख भई बिचलित मानसिकताबाट ग्रसित स्ववियु अध्यक्ष कृष्ण धामीले खाजा खाइरहेको बेला क्याम्पसका प्राध्यापक डम्मर साउँद माथि हातपात गर्नुले स्ववियुको आदर्श माथि ठाडो प्रहार गरेको हाम्रो ठहर छ । विद्यार्थी हकहितका लागि गठित सिंगो संस्थाको बदनाम हुने गरी गरिने कुनै पनि घटना किमार्थ स्वीकार गर्न सकिँदैन् ।
लोकतान्त्रिक शासन व्यवस्थामा असहमती तथा असमझदारीलाई छलफल र संवादको माध्यमबाट निराकरण गर्ने विकल्प रहने कुरालाईसमेत ख्याल नगरी शिक्षा दिने गुरुको भुमिका निर्वाह गरिरहेका प्राध्यापक माथि अपराधीक शैलीमा भौतिक आक्रमण गर्ने कुराले नेविसंघको गम्भीर ध्यानाकर्षण भएको छ । ̓
स्ववियु अध्यक्ष धामीले परीक्षाको विषयलाई लिएर प्राध्यापकमाथि हातपात गरेको बुझिएको छ ।