दार्चुला । नेपाली काँग्रेसले प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीको दाबी छाडेपछि सुदूरपश्चिमका काँग्रेस नेताहरु असन्तुष्ट देखिएका छन्। अब काँग्रेसले सुदूरपश्चिममा मुख्यमन्त्री पाउनुपर्ने माग गर्दै प्रदेशका काँग्रेस नेताहरु शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेको स्रोतले बताएको छ।
सुदूरपश्चिमबाट काँग्रेस संसदीय दलका नेता रणबहादुर रावलको टोली मुख्यमन्त्री फेर्न माग गर्दै बालुवाटार पुगेको हो। प्रदेश १ वा बागमतीमा काँग्रेसले आफ्नो दाबी छाडेपछि अब सुदूरपश्चिममा काँग्रेसले मुख्यमन्त्री पाउनुपर्ने रावलले प्रधानमन्त्री देउवासँग माग गरेका छन्।
यसअघि प्रदेश १ र वागमती प्रदेशमा नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी) बीच मुख्यमन्त्रीहरू भागवण्डा गर्ने अघोषित समझदारी भएको थियो। तर, मन्त्रिपरिषद विस्तारका क्रममा आफूहरुले कम मन्त्रालय पाएको माधवकुमार नेपालले गुनासो गरेपछि दुबै प्रदेशमा माधव नेपालको पार्टीलाई मुख्यमन्त्री छाड्न प्रधानमन्त्री देउवा तयार भएका छन्।
हाल सुदुरपश्चिम प्रदेशमा नेकपा माओवादीबाट त्रिलोचन भट्ट मुख्यमन्त्री छन्। उहाँलाई एकीकृत समाजवादीको समर्थन छ। यसअघि विश्वासको मत लिँदा भट्टलाई नेपाली काँग्रेसले मतदान नगरी तटस्थ बसेको थियो। हाल ५२ सदस्य रहेको सुदुरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीका १४, माओवादीका १३ र काँग्रेसका १२ सांसद छन्।
प्रतिपक्षी एमालेसँग १० सांसद छन् भने साना दलका २ सांसद छन्। यसअघि विश्वासको मत लिँदा मुख्यमन्त्री भट्टले ३० मत पाएका थिए। तर, काँग्रेसले उनलाई मत नदिई तटस्थ बसेको थियो। गठबन्धन सरकारको ठूलो दल काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गरिरहेको छ भने माओवादीले सुदुरपश्चिम, कर्णाली र लुम्बिनीसमेत गरी तीनवटा प्रदेशमा मुख्यमन्त्री पाएको छ।