कांग्रेसलाई झलनाथको कटाक्ष- चीनको अनुदानमा खुलेका उद्योग कौडीको मोलमा बेच्नेहरु बीआरआईको विरोध गर्दैछन्
काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बीआरआईको विषयमा कुनै विवाद गर्नुपर्ने कारण नै नभएको बताएका छन्।
चीन प्रस्थान गर्नु अघि विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै बीआरआई अहिलेसम्म १५३ मुलुकले सम्झौता गरिसकेको बताए। उनले अमेरिका र भारतले विरोध गरे बीआरआई गलत हो भन्न नसकेको जिकिर गरे।
उनले भने, ‘उनीहरुको विरोध चीनले कुनै प्रकारको लोन दियो भने, त्यो ऋण पासो हुन्छ भन्ने गरेका छन्। तर, यो देशमा भयो भनेर उदाहरण दिन सकेको छैनन्। त्यस्तो छँदा पनि छैन।’ उनले चीनले दिन लोन सफ्ट लोन नै हुने बताए।
उनले कांग्रेसलाई लक्षित गर्दै भने, ‘हामीले सधै भिख मागेर मात्रै काम गर्नुपर्छ भन्ने छैन। केही साथीहरु चाहिँ अहिले चीनबाट हामीले अनुदान मात्रै लिनुपर्छ भन्ने तर्क गर्दैछन्। तर, तीनै साथीहरु हिजो चीनले अनुदानमा दिएर नेपालमा निर्माण भएको उद्योग धन्दाहरु कौडीको मोलमा बेच्नेहरु तीनै हुन्। जो आज अनुदान मात्रै लिनुपर्छ भन्दैछन्। अनुदान लिएको कुरा चाहिँ बेचेर खाने अनि अरु अनुदान लिन लाज लाग्दैन।’
उनले प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा आग्रह र पूर्वाग्रहबाहिर गएर राष्ट्रिय हितलाई ध्यानमा गएर बीआरआईबारे सम्झौता गर्नुपर्ने बताए।