२९ वर्षे राजनैतीक जिवन पश्चात् नेता धामीद्धारा जिल्ला नेतृत्वको आकांक्षा

दार्चुला ।नेपाली कांग्रेसका उपसभापति एवं शैल्यशिखर नगरप्रमुख अमरसिंह धामीले राजनीतिक जीवनको झण्डै तीन दशकमा पार्टी सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

२०४९ देखि क्रियाशील भई पहिलो पटक नेपाली कांग्रेस दार्चुलाको जिल्ला कार्य समिति सदस्य बनेका धामी अहिले जिल्ला उपसभापतिको जिम्मेवारीमा रहनुभएको छ । यसअघि अधिबेशनमा धामी जिल्ला उपसभापति बन्नुभएको थियो । ।

२०४९ पश्चात् उहाँ कांग्रेस एक खम्बा भएर राजनीतिमा होमिएका थिए । नेपाली कांगे्रसको सदस्य रहेका धामी २०५२ तिर दुर्गम विकास समिति सदस्य समेत बन्नुभयो । झण्डै २ वर्ष दुर्गम विकास समिति सदस्य रहेका धामी २०५४ को स्थानीय निकायको निर्वाचनमा साविकको ग्वानी गाविसको अध्यक्षमा चुनाव लडेका थिए । राजनीतिक जीवनको पहिलो पटक निर्वाचन लडेका धामी साविकको ग्वानी गाविसको अध्यक्षमा पराजित भए तर पनि उहाँ कांग्रेसमा निरन्त्रर क्रियाशील रहेको उहाँको भनाई छ ।

जिल्ला कार्यसमिति सदस्य हुदै धामीले महाधिबेशन प्रतिनिधिको जिम्मेवारी पनि पाउनु भएको थियो । दुई पटक महाधिबेशन प्रतिनिधिको जिम्मेवारी पाएको धामीले बताउनुभयो । २०६३ तिर स्थानीय शान्ती समिति संयोजकको समेत जिम्मेवारी उहाँले सम्हाल्नु भएको थियो ।

१० वर्षे सशस्त्र द्धन्द्धका बेला पनि आमोबादीको दवाब झेलेको धामीलाई स्मरण छ । सशस्त्र द्धन्द्धका क्रममा थुप्रै राजनीतिक दलका नेता कार्यकर्ताहरुले पार्टी छाड्नु प¥यो, भने कतिपयले कुटाई पनि खानु प¥यो । नेता धामी भने कांग्रेस भएर बाच्नु पर्दछ र कांग्रेसलाई जोगाउनु पर्दछ भन्दै दवाब सहेर बसेको तर हतास नभएको प्रतिक्रिया दिनुहुन्छ।

नेपालमा नेकपा माओबादीले गरेको संघर्षकै बेला २०६३ मा राजा बिरोधी आन्दोलन पनि गरे । जिल्लाका अन्य नेताहरुसंगै काठमाण्डौमा आन्दोलनका क्रममा उहाँले जेल सजाय पनि भोगेको पनि बताउनुभयो । शेरबहादुर देउवालाई कुँ गरिएको भन्दै राजा बिरोधी आन्दोलनका क्रममा काठमाण्डौमा आफूले जेल सजाय पनि भागेको उहाँको भनाई छ ।

जिल्ला सदरमुकाम खलंगामा आन्दोलनका क्रममा सुरक्षाकर्मीहरुको लठ्ठी खाएको अनुभव समेत उहाँसंग छ । ‘राजा बिरोधी आन्दोलनमा जेल परेन कि, पुलिसको लठ्ठी खाएन की, शारिरीक अशक्तता हुदाँ पनि म आन्दोलनमा होमिए’ धामीले भन्नुभयो ।

२०७० सालको निर्वाचनमा धामीको समानुपातिक सांसदको उम्मेदवारमा नाम पनि सिफारि भएको थियो, तर पछि धामीको नाम समानुपातिक उम्मेदवारबाट हटाइएको उहाँको भनाई छ । त्यसपश्चात् भएको कांग्रेस जिल्ला अधिबेशनबाट उहाँ जिल्ला उपसभापति बन्नुभयो ।
त्यति मात्र होइन धामी २०७४ असार १४ गते भएको स्थानीय तहको निर्वाचनमा शैल्यशिखर नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको छ । नेकपा एमालेको दबादबा रहेको शैल्यशिखर नगरपालिकामा उहाँले नेकपा एमाले र माओबादीका उम्मेदवारलाई पराजित गर्दै बिजय हाशिल गर्नुभएको थियो ।
हाल पनि उहाँ शैल्यशिखर नगरपालिकाको नगरप्रमुख पदमा हुनुहुन्छ । साथै उहालेँ नेपाली कांग्रेसको निर्वाचन क्षेत्र नम्बर ख को सभापतिको जिम्मवारी पनि सम्हाल्नु भएको छ ।

झण्डै कांग्रेसमा क्रियाशील रहेको तीन दशक अर्थात् २९ वर्ष पश्चात् नेता धामीले अब जिल्ला नेतृत्वको आकांक्षा व्यक्त गर्नुभएको छ। जिल्ला उपसभापतिको जिम्मेवारी सम्हालिसकेकाले अबको पालो नै सभापतिको भएको भन्दै उहाँले जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेको बताउनुभयो ।

पार्टीमा गरेको योगदान र अहिलेको जिम्मेवारीले आफू नै पार्टीको जिल्ला सभापतिको उम्मेदवारको पहिलो नम्बरमा हुने उहाँको दाबी छ । ‘उपसभापतिको जिम्मेवारी सम्हालिसकेको छु, अबको पालो नै जिल्ला सभापतिको हो’ धामीले भन्नुभयो ।
पार्टी नेतृत्व चलायमान हुनुपर्ने र नेतृत्व परिवर्तन गर्दै लैजानुपर्ने तथा लोकतन्त्रलाई बलियो बनाउनुपर्ने उहाँको धारणा छ । कांग्रेस लोकतन्त्रातिक व्यवस्था पक्षधर भएकाले सोही विधि र पद्धति अनुसार नै अगाडी बढ्नुपर्ने उहाँको भनाई छ । नेपाली कांग्रेस ७ औँ जिल्ला अधिबेशन आगामी असोज ५ गतेका लागि तय गरिएको छ ।

Leave A Reply

Your email address will not be published.