आमाको याद :हरिश डोबाल

आमा,
आज पनि सम्झन्छु म,
तपाईंले समाइदिनुभएको मेरो सानो हात,
तपाईंको न्यानो काखमा लुकाउँदा
संसारका सबै दुखहरू हराउँथे।

११ वर्ष बितेछ —
तर यो हृदयले समय गन्दै हिँड्दैन,
यो त तपाईंको हाँसो, मायाको आवाज
र अँगालोको गर्मी खोजिरहन्छ।

संसारले भन्छ—
“समयले सबै घाउ निको पार्छ।”
तर आमा, तपाईंको अभावले
घडीको सुई रोकिन्छ,
रात लम्बिन्छ,
र बिहान अधुरो लाग्छ।

कहिलेकाहीँ सपना देख्छु—
तपाईं फर्केर आउनुभएको,
“छोराछोरी, डराउन पर्दैन”
भन्नु भएको।
तर निद्रा खुल्नेबित्तिकै
यथार्थ चिरिन्छ
र आँसु बग्छ।

आमा,
तपाईं नभए पनि
तपाईंको आशीर्वाद
मेरो हरेक पाइलामा साथ हुन्छ भन्ने
मलाई विश्वास छ।
म दुःख सहेर पनि अगाडि बढ्छु,
किनभने तपाईंको नामले नै
मलाई बल दिन्छ।

जीवनमा धेरै अधुरा सपना छन्,
तर एउटा मात्र चाहना छ—
कुनै दिन
स्वप्नभन्दा परको संसारमा
फेरि तपाईंको काख पाऊँ.

🖋️लेखक : हरिश डोबाल बैतडी शिक्षा क्याम्पसका विद्यार्थी हुन्।

Leave A Reply

Your email address will not be published.