दार्चुला । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुको संस्थागत क्षमता स्वमूल्यांकनको नतिजा सार्वजनिक गरेको छ । स्थानीय तहहरुको गुणस्तर परीक्षण पछि आर्थिक बर्ष २०८०र८१ को स्वमूल्यांकनको नतिजा प्रकाशन गरिएको हो ।
नतिजा अनुसार दार्चुलाका नौँ वटै स्थानीय तहमध्ये शैल्यशिखर नगरपालिका सबैभन्दा बढी अंक प्राप्त गर्दै प्रथम भएको छ । कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय पद्दति र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यसहित लिजा कार्यान्वयनमा रहेको मन्त्रालयले जनाएको छ ।
शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बार्षिक बजेट तथा योजना व्यवस्थापन, बित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, वातारण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय गरेर १० ओटा सूचकको आधारमा स्थानीय तहहरुको स्वमूल्यांकन गर्ने गरिएको छ ।
मन्त्रालयले प्रकाशन गरेको लिजाको नतिजा अनुसार दार्चुलाका नौँ वटा स्थानीय तहमध्ये शैल्यशिखर नगरपालिकाले सबैभन्दा बढी ८१ अंक सहित पहिलो बनेको छ भने ६१।७५ अंकसहित लेकम गाउँपालिका पुछारमा रहेको छ ।
जिल्लाका अन्य स्थानिय तहहरुमा क्रमशः मालिकार्जुन गाउँपालिकाको ८०।७५ अंक रहेको छ। त्यस्तै नौगाड गाउँपालिकाको ८०।२५ अंक, दुहुँ गाउँपालिकाको ७९।२५ अंक, महाकाली नगरपालिका र अपिहिमाल गाउँपालिकाको समान ७८।७५ अंक रहेको छ। त्यस्तै मार्मा गाउँपालिकाको ७२ अंक र व्याँस गाउँपालिकाको ७०।२५ अंक रहेको छ ।
स्थानीय तहहरूको शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, समाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन साथै सहकार्य र समन्वय लगायतमा मूल्याङ्कन गर्ने गरिन्छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ जारी गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको हरेक आर्थिक वर्षमा स्वमूल्याङ्कन गर्ने गर्दछ ।