यस बर्षको गौरा पर्व आउदो बुधबार देखि शुरु हुने ,गाउँघरमा गौरा पर्वको रौनक शुरु

दार्चुला । दार्चुला सहित सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा यो बर्ष भदौ १२ गते अर्थात आउदो बुधबार देखि शुरु हुने भएको छ । बुधबार भदौ १२ गते बिरुडापञ्चमीका दिन बिरुडा भिजाएर गौराको शुरुवात गरिने स्थानीय संस्कृतिका जानकारहरुले बताएका छन ।

बिरुडाले गौरादेवीको पूजाआजा गर्ने चलन रही आएको छ । गहुँ, गहत, मास, गुराउँस र केराउ गरेर पाँच प्रकार अन्नलाई बिरुडा मान्ने प्रचलन रही आएको छ ।बिरुडापञ्चमीका दिन पाँचै प्रकारका अन्नलाई मिसाएर तामाको भाँडामा भिजाउने प्रचलन रही आएको छ ।

भाद्र कृष्ण अथवा शुक्ल पक्षमा मनाइने गौरा पर्व यो बर्ष भाद्र शुक्ल पक्षमा परेको ज्योतिष रामदत्त जोशीले जानकारी दिनुभयो । शुक्ल पक्षमा परेको गौरालाई उजेली गौरा भन्ने चलन रही आएको छ । कृष्ण पक्षमा परेको गौरालाई अँधेरी गौरा भन्ने चलन रही आएको छ ।

गौरामा ब्रतालु महिलाहरुले बिशेष प्रकारको धागो अर्थात दुबधागो लगाउने प्रचलन रहेको छ । विवाहित महिलाहरुले दुबधागो धारण गर्ने गरेका छन् । गौरा पर्वमा गौरा र महेश्वरको पूजाआजा गर्ने चलन रही आएको छ । यो पर्वमा बिरुडाले नै गौरा र महेश्वरको पूजाआजा गर्ने गरिन्छ ।

बिरुडापञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका कुवा अथवा धारा लगेर धुने प्रचलन रही आएको छ । गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावाली हो । यो बर्ष भदौ १५ गते अठ्यावाली परेको छ ।

अठ्यावालीका दिन ब्रतालु महिलाहरुले गौरा खलामा गौरादेवीको पूजाआजा गर्ने गर्दछन् । गौरामा गाइने फाग र सगुन गाउँदै बिरुडाले गौरा देवीको पूजाआजा गर्ने चलन रही आएको छ ।

गौरा माताको प्रसादको रुपमा रहेको बिरुडाले आफ्ना श्रीमान,छोराछोरी, आफन्तजनहरुको टाउको पुज्ने चलन रही आएको छ । लामो आयु, आरोग्य, धनधान्य प्राप्तिको कामनासहित टाउको पुज्ने चलन रही आएको छ ।

गाउँघरमा गौरा पर्वको रौनक शुरु भइसकेको छ । विभिन्न कामको सिलसिलामा घर बाहिर रहेकाहरु पनि घर फर्कने क्रम बढेको छ ।

Leave A Reply

Your email address will not be published.