दार्चुला। दार्चुला कारागारमा क्षमता भन्दा बढि कैदीबन्दी रहेका छन । कारागारमा क्षमताभन्दा बढी कैदी भएपछि व्यवस्थापनमा समस्या भएको छ । कारागारमा क्षमताभन्दा बढी कैदी भएपछि महिला कारागारमा पुरुष कैदीलाई राखिएको छ ।
यहाँ १५ जना महिला र २५ जना पुरुष गरी जम्मा ४० जना कैदी राख्ने क्षमता भए पनि हाल ७९ जना कैदी रहेका छन । पुरुष कैदीको सङ्ख्या धेरै भएपछि १५ जना कैदीलाई महिला ब्लकमा राखिएको जेलर सरिता चन्दले जानकारी दिनुभयो । यद्यपि त्यहाँ हाल महिला कैदी छैनन् ।
कारागारमा एक भारतीयसहित ७९ जना पुरुष कैदी रहेको उहाँले बताउनुभयो । कारागारको क्षमताभन्दा बढी कैदी हुँदा शौचालयको सेफ्टी ट्याङ्की भरिने समस्या छ भने खानेपानी भण्डारणका लागि आवश्यक साधन छैन । उहाँले भन्नुभयो,
“तत्कालको अवस्थामा जेनतेन समस्या समाधान गरिएको छ, महिला कैदी आउनेबित्तिकै व्यवस्थापनमा फेरि समस्या हुन्छ ।” ‘घ’ श्रेणीको २०४२ सालमा निर्माण गरिएको कारागारको कम्पाउन्ड जीर्ण भइसकेको छ ।
कार्यालय सञ्चालनका लागि पनि निकै समस्या छ । हाल एउटा सानो कोठाबाट कार्यालय सञ्चालन भइरहेको छ । तीन कोठा रहेको भवनमा सुरक्षाकर्मी बस्ने, कार्यालय सञ्चालन र चौबिसै घण्टा ड्युटी बस्ने कर्मचारीले लिएका छन् ।