दार्चुला । दार्चुलामा अटो दुर्घटनामा परी वेपत्ता भएका व्यतिहरुको पहिचान खुलेको छ ।
आज दिउसो करिव साढे १ बजेतिर नौगाड गाउँपालिका–५ को सौकेबगर भिरको सडकबाट म–१ ह–११४८ नम्बर अटो नौगाड खोलामा खस्दा नौगाड गाउँपालिका–६ डाडाकी १२ वर्षिय आरुसी धामीको ज्यान जानुका साथै सोही अटोमा
सवार मृतक आरुसीकी हजुर आमा ४७ वर्षिय चाखुरी देवी धामी र १७ वर्षिय भागा धामी नौगाड खोलामा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
अटोमा चालक सहित पाँच जना सवार सो अटोमा अटो चालक मनीराम भुलका १७ वर्षिय छोरा आयुष भुल घाइते भएका छन् । उहाँको दायाँ हात भाचिएको छ । घाइते आयुषको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरी
निरिक्षक छत्रबहादुर रावतले जानकारी दिनुभयो । चालक मनीराम भुल प्रहरी नियन्त्रणमा छन् । वेपत्ता चाखुरी र भागाको खोजी कार्य जारी रहेको छ ।
नौगाड गाउँपालिकाको केन्द्र होपरीगाडबाट मसेनीबगरतर्फ आउँदै गरेको अटो सडकबाट अन्दाजी ५० मिटर तल नौगाड खोलामा खसेको प्रहरीले जनाएको छ ।