दार्चुला । दार्चुलामा चारदिन देखि लगाएको निषेधाज्ञा र कर्फ्यू हटाइएको छ । भाद्र २४ गते राती १० बजेदेखि जिल्ला प्रशासन कार्यालय दार्चुलाले लगाएको निषेधाज्ञा र कर्फ्यू शनिबार आजबाट हटाइएको हो ।
जेनजी आन्दोलनका कारण उत्पन्न असुरक्षाका कारण लागू गरेको कर्फ्यू तथा निषेधाज्ञा हाल कायम नरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो ।
स्थानीय प्रशासन ऐन २०२८को दफा ६ बमोजिम जिल्लाभरी लगाएको निषेधाज्ञा र कर्फ्यू हटाइएको उहाँले बताउनु भयो । यो सँगै आज बिहानैदेखि जिल्ला सदरमुकाम लगायत अन्य क्षेत्रमा चहलपहल बढ्न थालेको छ ।
पसलहरु पूर्णरुपमा खुलेका छन् भने सवारी साधनहरु चल्न थालेका छन् । जेनजी आन्दोलनका नाममा युवाहरुले नेपाली कांग्रेस, नेकपा (एमाले) को जिल्ला सदरमुकाममा रहेको पार्टी कार्यालयमा मङ्गलबार तोडफोड र आगजनी गरेका थिए ।
सुरक्षा निकायका प्रमुखहरुले संयमता अपनाएका कारण ठूलो क्षति हुन नपाएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए । स्वास्थ्य, खानेपानी लगायतका अत्यावश्यक सेवामा कुनै अवरोध नरेहेको बताइएको छ ।
प्रशासनले कुनै समस्या आए तत्काल सम्पर्क गर्न अनुरोध गरेको छ । जेनजी आन्दोलन पछि देशले पहिलो महिला प्रधानमन्त्रीमा सुशीला कार्कीलाई पाएको छ । उनले शुक्रबार मध्यराति राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिएकी छिन् ।
