दार्चुलाको शैल्यशिखर नगरपालिका वडा-५मा दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको टावर जडान गरिएको छ । केहीसमय पहिले दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम दार्चुलाले बगौरा क्षेत्रमा टेलिकमको टावर जडान गरेको हो ।
तर अहिले सोही टावरमा उपकरण जडानमा ढिलाई हुँदा सेवाग्राही मारमा परेका छन । गत वर्ष देखि नै आवश्यक उपकरण जडानमा ढिलाई हुँदा सेवाग्राही मारमा परेका हुन् ।
टेलिकमले आवश्यक उपकरण जडानमा ढिलासुस्ती गरेको शैल्यशिखर नगरपालिका वडा- ६का वडा अध्यक्ष जगदिश सिह धामीले जानकारी दिए । टावरमा आवश्यक उपकरण जडान तथा सेवा सुचारुका लागि बेला बेला विद्युत
कार्यालय र टेलिकम कार्यालयसंग कुरा गरेपनि दुबैपक्षबाट मागसम्बोधन नभएको उहाँले बताए । स्थानीय र टेलिकमकै आग्रहमा बगौरा क्षेत्रमा टावर ठडिए पनि उपकरण जडानमा ढिलासुस्ती हुदाँ नगरपालिकाबासीले सास्तीभोग्न बाध्य
भएका छन । वडा अध्यक्ष धामीका अनुसार विद्युत कार्यालयले तार पोलहरु उपलब्ध गराउने मौखिक जानकारी मात्रै गराएको छ । यसका लागि पनि बजेट निकासा नहुदाँ समस्या भएको प्राधिकरणले जनाएको छ । टावरले काम नगरे
पछि आफन्तलाई फोन गर्न, अत्यावश्यक कामका लागि सम्पर्क गर्न र ईन्टरनेट सेवा चलाउन समस्या भएको वडा अध्यक्ष धामीले बताउनु भयो । यता नेपाल दूरसञ्चार कार्यालय दार्चुलाले घाम लागेको बेला टावरले काम गरेपनि बादल र बर्षातको बेला टावरले काम नगर्ने समस्या रहेको स्वीकार गरेको छ । कार्यालय प्रमुख कृष्ण बहादुर गुरुङ्गका अनुसार टावरमा सिंगल–फेज
भएकाले समस्या आएको बताएका छन । अब उक्त टावरमा आवश्यक उपकरण जडानसंगै थ्रीफेज जडान हुने बताउनु भयो । यसका साथै टावरमा नियमित विद्युत सेवा संञ्चालनका लागि नेपाल विद्युत प्राधिकरणसंग पनि समन्वय भइरहेको बताएका छन । केही दिनभित्रै समास्या समाधानको प्रयास भैइरहेको कार्यालयले जनाएको छ । यता नेपाल विद्युत प्राधिकरण दार्चुला विरतण केन्द्रले टावरमा आएको समस्या बुझन प्राविधिकलाई फिल्डमा खटाएको छ ।
आवश्यक समन्वय टेलिकमसंग भइरहेको कार्यालय प्रमुख आनन्द सापकोटाले बताउनु भयो । विशेषगरी नगरपालिकाको तल्लो क्षेत्रमा फोन नलाग्ने समस्याले स्थानीय आजित भएका छन् । टेलिफोन सेवा अवरुद्ध भएको विषयमा सबैलाई
जानकारी गराउँदा कोही कसैले वास्ता नगरेको त्यहाँका स्थानीयरुको भनाई रहेको छ । टावरले काम नगरेपछि जिल्लाभित्र र बाहिर रहेका आफन्तसँग सम्पर्क विच्छेद हुनुका साथै सरकारी काम पनि प्रभावित बनेका छन् ।
टेलिफोन सेवा अवरुद्ध हुँदा शैल्यशिखर नगरपालिका वडा—३,देखि ८सम्मका झण्डै १७ हजार सेवाग्राही सञ्चार सम्पर्कबाट वञ्चित भएको वडा अध्यक्ष धामीले जानकारी दिनुभएको छ ।